४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

धुलो र धुँवाका कारण चापागाउँ आसपास श्वास–प्रश्वासका बिरामी वृद्धि

५ जेठ ललितपुर । धुलो र धुवाँका कारण चापागाउँ र त्यस आसपासका क्षेत्रमा श्वास–प्रश्वासका बिरामी वर्षेनी बढिरहेका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा आउने बिरामीका आधारमा यस क्षेत्रमा श्वास–प्रश्वाससम्बन्धी समस्या धेरैमा रहेको पाइएको छ ।

अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठ अस्पतालमा उपचारका लागि आउनेमध्ये सबैभन्दा बढी श्वास–प्रश्वाससम्बन्धी समस्याका बिरामी भएको बताउनुहुन्छ । बालबालिकादेखि ज्येष्ठ नागरिकमा श्वास–प्रश्वाससम्बन्धी समस्या पाइएको छ । निमोनिया, दम, छातीको खराबी, क्षयरोग, टन्सिललगायत समस्या लिएर बिरामी आउने गरेका छन् । उहाँ भन्नुहुन्छ, “भर्ना हुने बिरामी र ओपिडी दुवैतिर यिनै बिरामी सबैभन्दा बढी छन् ।”

वातावरण प्रदूषणकै कारणले श्वास–प्रश्वाससम्बन्धी समस्या बढिरहेको उहाँ बताउनुहुन्छ । चापागाउँ र त्यस आसपासमा बस्ती बाक्लिँदै गएको छ । उहाँ भन्नुहुन्छ, “बस्ती बाक्लो भएका ठाउँमा सरुवा रोगको झण्डै खतरा रहन्छ ।” अस्पतालमा मासिक झण्डै ३५ जना श्वास–प्रश्वाससम्बन्धी विभिन्न रोगका बिरामी भर्ना भइरहेका छन् । अस्पताल केही समय पहिले जिल्ला अस्पतालमा बढुवा भए पनि सामुदायिक अस्पतालकै रुपमा छ ।

–रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार ०८:४६