२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

ढोकाबाहिर टोलाइरहेका कविः द्वारिका

-निर्मलकुमार थापा

जीवन सगरलाई घर मानौ भने यसको शुरु कहाँ ? अन्त्य कहाँ ? जन्म जहाँ मृत्यु त्यहाँ । यद्यपि मानसजीवनको वास्तविक घर शायद आफ्नै चिनारी हो । भोगका निम्ती आफ्नै भागमा परेको खाना हो । द्वारिका साहित्यको रसरंगी संगतमा लागेर कविताको लामो बाटोमा गोडा त टेकाए तर गन्तब्य कहाँ हो ? शाब्दीक जंगल बिहारमा यथार्थ व्यवहारको कर्तव्य साँग्लो कसरी झुल्कीयो ! भनौ त्यो दिव्य दर्शन थियो ।

प्रकृती दंश मुलमै परेकोले होला माता उमेरका महिलाहरु सबै आमा लाग्थ्यो । पिता उमेरका सबैजन अभिभावक लाग्थ्यो । उमेर जेसुकै भएपनि सँगै हाँस्ने खेल्ने सबै दौतरी लाग्थ्यो । परवाह बिना रातको कविता रचे, दिनको घाममा पसिना सुके, पंक्षि, पुतलीका पखेटामा शब्दका कोसेली चढाए । विपनामा सपनाका कविता लेखे, सपनामा सपाट संसारको बिलौना देखे ।

अन्यौलताको सिलौटोमा भावना, अनुभव पिस्दै जाँदा विश्वविद्यालयमा नपाइने शिक्षा हात पारे । त्यो पनि बेला थियो शब्दमा जीवन सजिन्थ्यो । जब उनको जीवन स्वयंम काव्य बन्यो शब्दका गाथले साथ छोडेपछि निर्जन नगरका परदेशी नूतन कविका रुपमा स्मृती ऐनालाई पुछिरहे । परिवारमाझ एकान्तिकता साँचेर बस्नु परम दिव्यता हात पार्ने अचुक ओखती हो । आफ्नाहरु सँगै भएर पनि एक्लो शरिर सुस्वास्थ्यको बैशाखी टेकेर विवेकसहित ठमठमी हिंडीरहेकोछ ।

रहस्यदर्शीले पानीमा हस्ताक्षर गरेर अन्र्तध्यान भए । कवि द्वारिकाले अनुभवका हाँगा–पातमा थपक्क बसेका शितका थोपालाई बिस्तारै हल्लाए । ती कविता बनेर यसरी मुस्कुराए;

सधैँ सधैँ म ताराको देश डुल्छु
रातको
सहस्र प्रहरमा
बैँश म पोखाउँदै हिँड्छु ।
. . .

अन्धकारको माझमा, मेरो कोठामा बत्ती बाल्दा
झ्यालसम्म आई, रात चियाइरहन्छ
कसरी कसरी, बत्ती निभाउन पुग्दा
रात जिल्ल परिरेको हुन्छ
लुकेर निमेषमा बाहिर देखिएझैँ,
मलाई कति माया लाग्छ ।

कति बेरदेखि
रात यसरी
कुरी बसिरेथ्यो ।
. . .

जूनको प्रणयबारीमा, रातको जोबन लुछेर
ज्योतिमय आँखा, घरीघरी झम्काउँछ
प्रणय–प्रलापमा, नदीलाई अँगाल्न
बर्सात कसरी कुर्लन्छ ।

झम–झम, झम–झम पानी पर्दा
मीठो बोली, साथ तिम्रो लाग्छ,
रङ सात इन्द्रेनीले बोक्दा, मसित भाग्दा
खास्टो तिम्रो अल्झिएझैं लाग्छ ।

. . .
मैले लाएका लुगामा, मानिस यहाँका झुन्डिछन्
र मलाई, यताउता तान्छन् ।
राति एक्लो कोठामा, लुगा धर्र च्यात्छु
क्ताकता हराएर जाने, लगातार कोसिस गर्छु ।

तर स्वर्ण प्रभातले
फेरिफेरि लुगा मलाई बढाउन्छ
निन्द्रामा हराएको आफूलाई
उनी लिएर सपना खोजीखोजी आउँछ ।

यस्तैयस्तै छ,
लुगा अब यहाँ बाँड्नु छ
सबैलाई आफू सम्झाउनु छ
अनि सपना मेरा बोक्नेजतिलाई
रातरातभर पछ्याउनु छ ।

स्वप्नलीलाको एकल–यात्रामा गुनगुनाएका गीतको भाकासँगै हिँडिरहदा बर्षादी भावना भिज्लान् कि भनेर कविताको छानो उनको जो छाता बनेकोछ र आफैलाई जोगाइरहेकोछ । अविछिन्न बर्षाका सुरम्य थुनहरुदेखि चुहीरहेकोछ;
लामा दिन बालेर
रातमा
म मेरो कथा खोज्छु;
दिनको तीक्ष्ण प्रकाशले
मेरो आँखाको ज्योति खाएको छ ।
अनि रातले आफूलाई सधैँ छोपूँ लाग्छ;
तर टाढाको यो डाँडाको, पिलपिल बलेको ज्यातिले
मैले ओढेको रातलाई, च्यात्न खोज्छ
यतिमै, विष्णुमती वारि–पारि
स्याल बथान, रातको स्तुति गाउँछ
नीरवतामा चमेरो अट्टहास भर्छ … … …
त्यो पिलपिले बत्ती, झ्यापझ्याप भएर निभ्दछ
अनि म, बत्ती बलेको हैन झैँ
अँध्यारोको फाटो हातले टालेर
सपनामा कथा दोहो¥याउन खोज्छु ।
. . .
एक्लो सफर मेरो
एक्लो सफर मेरो ।
अनन्त गोडाले, थिचेर दुब्लाएको, सडक यो
उम्किएर युगयुगदेखि, सफर मारेको छ ।

एक्लो सफर मेरो
असार–अपार सफर मेरो,
ए गीत गाउने हो !

अममलाइदेऊ,
घुम्टी हालोस् त्यहाँ
पर्खेर बसेको जहाँ ।

एक्लो सफर मेरो–
कस्तुरी डुल्ने
लेकको चिसो बतास
तातो सास मेरो,
दूर क्षितिज कुर्ने वास मेरो
भुइँ नै छुने झैँ गरेर ।

एक्लो सफर मेरो
पुग्न लाग्छ डर जहाँ–
मेरोवासको आस के होला
पुगेर त्यहाँ
भरी जून बोकेको
आकाशसित आँखा तर्नु होला ।
. . .
द्वारिकाका कविता पढ्दा लाग्छ प्रकृति र आमा केन्द्रिय तत्व बनेर हरेक कवितामा घुलेका छन् । उनी प्रिय गौँथलीका गीत गाउँदै, आकाशको मित बन्दै, मन हर्ने गुराँसको बैँस हेर्दै, जंगल किनारामा बस्ने दाउरेसँग उधारो बन्चरो लिएर औँसीको रातमा जुनकीरीको संगीत छप्काउदै हिँडेका छन् । नदि उनको बग्दो प्रेम हरेक कवितामा बहाव लिएर बहेको देखिन्छ । राप्ती–नारायणी किनारमा छोडाएको जोबन विष्णुमती–वाग्मतीको तटमा अन्तिम तर्पणका लागि तयार भएजस्तो नियतीदशाले डोर्याएकोछ । बैशालु राप्तीका उत्ताउला बहावमा लुकेका साल, काँस र ढड्डी झाडीमा उनी भेटाउँछन् ओवानो युवकको रक्तिम जोबन । आमाको दूध र बाबुको वीर्य हुलिएदेखि आफै एक बन्दी बनेर लुकेर चियाइरहेको आफु हुनुको कारण खोज्न शब्दको हल्कारा बनिरहेकाछन् । सम्झनाको डुंगामा शब्दहरु वारीपारी गरिरहेका भेटिन्छन् । अमर सालका काठमा कुँदिएका कविताका रापहरु नदीमा खिइन छाडेपछि पनि बूढो मुढाको राप बनेर अगेनामा साक्षीभावमा बोलीरहन्छन्, निजी उच्छवासका मधुरा श्वासरेखाहरु अखण्डवत बलीरहन्छन् ।

त्यो पनि बेला थियो आकाशका सारा तारा सोहोरेर लक्ष्मीपूजा गर्दै तिहारमा उज्याला शुभकामना कार्ड छपाउथे उनी र बाँड्थे आत्मीयजनलाई । यो पनि बेला हो, आकाशको बुढो बादल हेरेर छायाँ बनिदीओस् र मात लागेका बोला हिँड्नलाई साथी बनिदेवोस् भन्दै आफैसित गुनगुनाइरहेकाछन् ।

घाटे बैद्यहरुको चिन्ता । कोइलीले नचिनेको को हो ? को हो ? अथ्र्याउन कवितारुपि भिजिटिगं कार्ड बोकेर हिड्दथे । सुस्केरा भन्छ, अन्तिम शवयात्रामा सरिक भएको मायाजाललाई देखाउने बाटो छैन ! काँध फेर्ने मल्हामी छैनन् ! तातो तावाको चाकामा अन्तिम कविता जो लेख्नुछ ! तिमी खरानी हातमा लिएर आकाशतर्फ उडाइदिनु । म सम्झनेछु अनन्तयात्रामा काम आउनेछ सो कविता । वाचन गदैैगर्दा बाँच्नलाई बादल ढाडमा ढाडस दिन आउँछ । घण्टाघर रानीपोखरीको दशा देखेर फिस्स हाँस्छ, हाय तेरो समय, हाय मेरो समय !
. . .
… सन्तोष जो रोपिएन एउटै ठाउँमा
र जो लिएन एउटै रुप
इच्छा जो बढ्यो माछाझैँ
ठूलोठूलो हुँदै सानो माछा खाँदै
सीमा जो तरङ्गिरहन्छ बेर्दैबेर्दै माछालाई
बेर्दैबेर्दै सम्पूर्ण पोखरीलाई ।
यस आकाशभरिको प्रकाशको विकिरण
मेरो आँखा मानो एउटा पोखरी
म अङ्गीकार गरिरहेछु
मात्र लट्ठिन थकाइबाट, आफ्नो अनुहारबाट
सूर्यको उदाउनु र अस्ताउनु
मत्र ब्यूँझनु र सुत्नु
रेखाबद्धता सीमाको
जे बाँध्न सकिएन यी पाखुरा र पिँडौलामा
बिउँझनुको एउटा विवशता
जस्तो हिँड्नुको एउटा अतिक्रमणता
आफ्ना सीमाबद्धताहरुमा
जन्मनुको सीमाबचता
वर्षौबर्षौ साँधसीमा लगाउँछ ।
मौन र सिथरता एउटा मृत्यु
हामी मात्र एउटा बीज
जो फस्टियो अनेक हाँगा र उपशाखामा
हाम्रा सुस्केराहरुका माझमा
हामी एक्ला बीज
उभिरहेछौँ सम्भ्रममा आफ्नै रुखको छहारीमा
आफ्नो इच्छाका छायाहरुमा ।
यो बुद्धको बोधिवृक्ष र यो बुद्धको निर्वासन ।

आफैलाई उत्खनन गर्दै आँखामा निद्रा ओसार्ने कवि सपना र अँध्याराका प्रश्नहरु न अरुलाई सोध्नसक्छन् न आफैलाई । आँखाको गर्भवेदनामा लागेको डढेलो निभाउन वायुपत्री घोडा दौडिरहेकोछ । विश्रान्ति र धूलोबाट मुक्त हुन, आफन्तहरुका भाकाले ओभरकोटमा लागेका डोबधब्बाहरु धुन मन मानिरहेकोछैन ।
(आफू आफूबाट कविताशं । मधुपर्क, कात्तिक २०२५, वर्ष १ अड्ढ ६)

कविको एउटा दृष्टि कविता बनेर यसरी फुक्छ, आफैलाई सुकाएर बेस्सरी फुक्छ र फुर्छ;
… तिमी–हामी
जो यसरी बसिरहेछौंँ
अथवा जो यसरी उठिरहेछौँ
अथवा जो यसरी निदाइरहेछौँ
–बेग्लाबेग्लै घडीका बेग्लाबेग्लै समयहरु ।
भाँच्न सकिन्नन् घडीका सूईहरु
माया बसेको छ हाम्रो हातखुट्टाहरुमा झैँ
समयसमयको यो अन्योल
अन्योल यस अँध्याराको
जहाँ बिर्सिरहेछौँ अनुहारहरु चिन्न
जहाँ हिँडिरहेछौँ आफैँमाथि पुरानो इतिहासका हरफहरुझैँ
इतिहास जो पुरानो
अब त गन्ध पनि आउन्न
र कुनै अर्थ पनि लाग्दैन …
(एउटा दृष्टि कविताशंः मधुपर्क चैत २०२५, बर्ष १, अड्ढ ११)
कविता लेखनलाई एक अनन्त क्रम मान्ने द्वारिका जिन्दगीका ससफल असफल दुबै प्रयोगको किनारैकिनार हिँडेर यहाँसम्म आइपुगे । घाम पानी खाएका ती दिनहरु लखेट्दै आफूलाई आफैँबाट बाँच्नुको स्वीकृति खोजेर पनि फेरिफेरि फर्की अतीतका दन्त्यकथाहरुमा लुकाइरहेँ । जब ब्यूझन्थे ती यसरी पोखीन्थे;

ती ब्यूँझिबस्ने दिन
ती हिँड्ने बाटा
यो ब्यूँझाइ र हिँडाइको अतीत
मेरो अतीत–हाम्रो अतीत ।
उफ् ! अतीत वरण गरेको यो वर्तमान !!
प्रसवपीडा हाम्रा आशा र प्रतीक्षाहरुमा
फस्टाएका प्रत्येक अर्को दिन
–एउटा चो इ टा मा त्र भ ए
–एउटा ख ण् ड मा त्र भ ए
यस दिन र रातको क्रममा

हाम्रो ब्यूँझाइको बोझमा
हाम्रो हिँडाइको डोबमा
हामीले भत्कायौँ दिशा र कालको साँध
अब त एउटा क्रम
लखेटाइको मात्र
यो उमेर पासि«एको यस बाटोमा
यस विश्वासमा
अब त आफ्नै कथाको यात्रा
स्वयम् सुनिबस्नुपर्ला …
(रुपरेखा, असार २०२२, बर्ष ६, पूर्णाड्ढ ५०)

कवि द्वारिका श्रेष्ठलाई २०१५ सालतीर साहित्यकार बालकृष्ण समले गुलाफको बोटमा लागेका पोटीला कोपिलामा टल्केको शीतको थोपा देखेर भविष्यको आसा जताएका थिए । त्यो आसालाई अझ चौडा आयतनमा कविले सृजनासहित उघारे । सम अहिले हामीमाझ शशरिर छैनन न त कोपिला द्वारिका नै छन् । कोपिला पूर्ण विकसित फूल भएकोछ । यसको सौन्द्रर्यबाट समकालिन् कविताका पारखीहरु लाभावन्दीत भइरहेकाछन् । कवि द्वारिकाका सृजनापरागहरु अखबारमा आउन थालेको २०१०,१२ सालतीर हो । त्यसबेला शारदा, प्रगति, रुपरेखा, मुकुट, आरती, कविता, नयाँ कविता, कलाकार, सिउँडी, रचना, तुवाँलो, मधुपर्क, झड्ढार, सुनगाभा, बान्की, लगायतका प्रकाशित भएका थिए । उनको कविता ‘विस्मृतिको आत्मरति’ ले अहिलेको मनोदशा प्रष्टाउन खोज्छ;
यो मान्छेको हूल
र यो दौडको थकाइ
तिमी, खै चौतारी भएर आयौ
कि, अथवा दिग्भ्रम दिशा भएर आयौ ।

… दिन र रातको यो अनन्त लखेटाइमा
थहा छैन
तिनीहरुले मलाई लखेटिरहेछन्
या
म स्वयम् तिनीहरुलाई …

… पुराना भइसकेका आफ्ना कोट र कमिजका खल्तीहरुबाट
विस्मृतिहरुलाई बाहिर निकाली
खेखिरहन्छु बच्चाझैँ एक्लै
र आत्मरतिमा रमाइरहन्छु … ।

… एउटा चौबाटोमा उभ्याइएको सालिकझैँ
म निरन्तर हेरिरहेछु ती बाटाहरु
र थाहा छैन
म कतै जान बाटो पहिल्याइरहेछु
या कसैको बाटो कुरिरहेछु …

[email protected]

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार ०९:०६