१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण काम अघि बढ्यो

– जनक श्रेष्ठ

१७ वैशाख, लमजुङ । लकडाउनसँगै रोकिएका आयोजनाको काम पछिल्लो समय पुनः शुरु भएको छ । स्वास्थ्य सावधानी अपनाउँदै लमजुङको दोर्दी गाउँपालिकास्थित २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य आजदेखि पुनः शुरु भएको हो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्धारण गरेका सर्तमा रहेर काम पुनः शुरु गर्न सो आयोजनाले अनुमति लिएको हो । सोही अनुरुप पुनः काम शुरु गरिएको आयोजनाले जनाएको छ ।

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनामा सात÷सात जनाको दूई समूह बनाएर टनेलको लागि रड बान्ने काम भइरहेको छ । त्यस्तै १० जनाले ट्रान्समिसन लाइनका लागि खाल्डो खन्ने कामसमेत शुरु भएको र अरु काम भने हुन नसकेको आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीले बताउनुभयो । आयोजनामा आवश्यक पर्ने ढुवानीको लागि समेत प्रक्रिया अघि बढाएर आयोजनाको अन्य कामसमेत केही दिनबाट शुरु गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । उक्त आयोजनामा ३०० कर्मचारी कार्यरत छन् । हाल ३०/३५ कर्मचारीबाट मात्र काम भइरहेको आयोजनाले जनाएको छ ।

आगामी असार महिनामा निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाले लकडाउनका कारण केही समय काम रोकिएकाले त्यो सम्भव नहुने साइड इन्चार्ज ज्ञवालीको भनाइ छ । उहाँका अनुसार आयोजनाको पावरहाउस, बाँधस्थल, सुरुङमार्ग, पाइप लाइन बिच्छ्याउनेलगायत ९२ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार पावरहाउसको सिभिल काम सबै सकिएको, इलेक्ट्रोमेकानिकलतर्फ ५० प्रतिशत काम बाँकी रहेको, बाँधस्थलको सबै काम सकिएको तथा टनेल पाइप लाइनको ८० प्रतिशत काम सकिएको छ । त्यस्तै तीन हजार दुई सयमध्ये २०० मिटर मात्र पाइप बिच्छ्याउन बाँकी रहेको आयोजनाले जनाएको छ ।

विसं २०७२ फागुनबाट निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाले नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसेनरी सामानमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा भएको ढिलाइका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । पछि समय थपेर गत चैत मसान्तसम्मका लागि सम्झौता भए पनि सो अवधिमा पनि काम नसकिने भएपछि असारसम्म सक्ने गरी सम्झौता भएको थियो । तर लकडाउनका कारण उक्त समयमा पनि निर्माण कार्य सम्पन्न हुन नसक्ने आयोजनाले जनाएको छ ।

आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले नेपाल विद्युत् प्राधिकरणसँग सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता (पिपिए) भएको बताउनुभयो । रु तीन अर्ब ८६ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको यो आयोजनाको समयावधि थप गरिएपछि यसको लागत बढेर करिब रु चार अर्ब २३ करोड पुग्ने अनुमान गरेको थियो । लकडाउनका कारण काम रोकिँदा रु चार अर्ब ५० करोड लगानीमा निर्माण सम्पन्न हुने आयोजनाको अनुमान छ । आयोजनामा गैरआवासीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

पाइप लाइनको काम माछापुच्छ्रे मेटल एण्ड मेसेरेनरी कम्पनी तथा सुरुङ निर्माणको काम मल्टी इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले लिएको छ भने बाँधस्थल र पावरहाउसको काम रसुवा कन्सट्रक्शन कम्पनी लिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार १५:२८