३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

विप्रेषण आप्रवाहमा ५.६ प्रतिशतले वृद्धि

४ जेठ, काठमाडाैँ । चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह पाँच दशमलव छ प्रतिशतले वृद्धि भई रु ५४० अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह छ दशमलव तीन प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।

आव २०७४÷७५ को नौ महिनाको तथ्याङ्कमा आधारित उक्त आर्थिक तथा वित्तीय स्थितिअनुसार खुद ट्रान्सफर आय भने रु ६२१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय नौ दशमलव नौ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक) समीक्षा अवधिमा छ दशमलव आठ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या तीन दशमलव दुई प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशकलव तीन प्रतिशत पुगेको छ । यस्तो मुद्रास्फीति गत वर्षको यही अवधिमा तीन दशमलव आठ प्रतिशत थियो । त्यस्तै खाद्य मुद्रास्फीति यस आवको नौ महिनामा चार दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मद्रास्फीति शुन्य दशमलव सात प्रतिशत थियो ।

समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति भने पाँच दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति छ दशमलव तीन प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर यस अवधिमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव तीन प्रतिशत र भारतको चार दशमलव छ प्रतिशत रहेको छ ।

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचाकाङ्क छ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक व्यापार यस अवधिमा कुल वस्तु निर्यात आठ दशमलव दुई प्रतिशतले वृद्धि भई रु ५० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव एक प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु १४ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु ११ अर्ब ७ करोड रहेको थियो ।

विसं २०७४ असार मसान्तको रु १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिती २०७४ चैत मसान्तमा एक दशमलव चार प्रतिशतले ह्रास भई रु १०६४ अर्ब ३७ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०७४÷७५ को नौ महिनामा विस्तृत मुद्राप्रदाय १० दशमलव ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय शुन्य दशमलव आठ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ चैत मसान्तमा विस्तृत मुद्राप्रदाय १६ दशमलव छ प्रतिशतले बढेको छ ।

त्यस्तै यस अवधिमा खुलाबजार कारोवारका विभिन्न उपकरणमार्पmत् पटकपटक गरी रु १३० अर्ब २५ करोड तरलता प्रशोचन गरिएको छ । यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७४ चैत मसान्तसम्म कुल १५८ वटा बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् ।

संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहमध्ये २०७४ चैत मसान्तसम्म ४२४ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति छ ।

–रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार ०६:१०