एमाले–माअोवादी पार्टी एकताको उतारचढावपूर्ण सात महिना
–रमेश लम्साल
४ जेठ, काठमाडाैँ । एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ ।
गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत गर्ने घोषणासहित दुई पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्रका साथ जाने निर्णय गरेका थिए ।
फरकफरक राजनीतिक पृष्ठभूमिसहित राजनीतिक प्रक्रियामा सहभागी रहेका दुई ठूला कम्युनिस्ट पार्टीको एकताले नेपाली समाजमा सकारात्मक चेतनाको सञ्चार गरिदिएको छ । सात महिनाको अवधिमा अनेकन विवाद, शंका र आशंकालाई पूर्ण विराम लगाउँदै आजसम्म आइपुग्दा एकताले मूर्त रुप लिएको छ ।
एकता प्रक्रियामा सहभागी नेताहरुले जुनसुकै बेला पनि एकताको घोषणा हुने सम्भावना रहेको बताउँदै आएका थिए । बुधबार तत्कालीन दुई पार्टीका अध्यक्षद्वयको महत्वपूर्ण र सघन छलफलपछि एकता प्रक्रियाले अन्तिम निष्कर्ष पाएको हो ।
वाम गठबन्धन बनाएर एकता प्रक्रियामा सहभागी हुँदा तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्र र उम्मेदवारसहित जनतामा जाँदा नै एकताको सन्देश प्रवाह भइसकेको थियो ।
राष्ट्रियसभा गृहमा आज नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र समारोहमा नेताहरुले व्यक्त गर्नुभएको विचारलाई नै आधार मान्ने हो भने पनि ‘एकता साना दुःखले आर्जेको विषय पक्कै होइन र थिएन पनि ।’
नेपालको कम्युनिस्ट पार्टी स्थापनादेखि नै गुटबन्दी, टुटफुट र विभाजनको रेखाबाट अगाडि बढेको हो । विसं २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २००८ सालदेखि नै गुटबन्दीको शिकार भएको नेताहरुको टिप्पणी छ । विधिवत् रुपमा त २०१९ सालदेखि नै पार्टीमा विभाजन शुरु भएको हो ।
पछिल्लो पटक २०७४ असोज १७ गतेदेखि सुरु भएको एकता प्रक्रिया जेठ २ गतेसम्म आइपुग्दा एउटा इतिहास कोर्न सफल भएको छ । विघटित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का शब्दमा ‘अनेकन आशंकाका बीचमा एकता प्रक्रिया एउटा निष्कर्षमा पुगेको छ, यो नेपाली जनता र देशको आवश्यकताका आधारमा भएको हो ।’
वामगठबन्धन निर्माण गर्ने दिन असोज १७ गते नै एकता संयोजन समिति गठन गरिएको थियो । सुरुमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई समेत सो प्रक्रियामा सहभागी हुनुभएको थियो । तरपछि निर्वाचनको प्रक्रियामा सहमति नभएको भन्दै उहाँ यसबाट बाहिरिनुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निार्वचनलाई केन्द्रमा राखेर दुई पार्टीले गत कात्तिक २१ गते संयुक्त घोषणापत्र सार्वजनिक गरे । नेपालको इतिहासमा दुई ठूला कम्युनिस्ट पार्टीले निर्वाचन प्रयोजनाका लागि सार्वजनिक गरेको संयुक्त घोषणापत्र नै पहिलो थियो ।
एकता घोषणा कहिले गर्ने भन्ने बारेमा नेताहरुका फरक फरक धारणा सार्वजनिक हुन्थे । विभिन्न आशंका र अनेकताका खबर पनि आउने गरेका थिए । तर बुधबार ११ बजे पछिका घटनाक्रमहरु एकाएक सार्वजनिक हुन थाले । जुन विगतमा घोषणा गरिएजस्तै अप्रत्यासित लाग्ने खालका थिए ।
बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एक्काएक्लै वार्ता भयो । वार्तामा सहजीकरण र आवश्यक सहयोगको जिम्मेवारीमा नेताद्वय विष्णु पौडेल र जनार्दन शर्मा हुनुहुन्थ्यो । सो बैठकले एकता घोषणा गर्न एकता समितिको बैठक बोलाउने निर्णय गरेको थियो । बुधबारै अपराह्न ४ बजे एमाले स्थायी समिति बैठक बस्यो र पार्टी एकताका लागि भएको सहमति अनुमोदन गरियो । बुधबार नै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्यो र एकता घोषणा अनुमोदन गर्ने निर्णय ग¥यो ।
आज विहान आठ बजे २५ औं मदन आश्रित स्मृतिमा पहिलो पटक ओली र दाहाल सहभागी हुनुभयो । सो लगत्तै विहान ११ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्यो । सो बैठकलगत्तै एमाले केन्द्रीय समितिको बैठक बस्यो ।
सो लगत्तै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बस्यो । एकताको सम्पूर्ण प्रक्रिया बारेमा अध्यक्ष दाहालले जानकारी गराउनुभयो । अपराह्न १५ बजे दुवै पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बालुवाटारमा बस्यो र एमाले तथा माओवादी केन्द्र विघटन गरी नेकपाको सदस्यका हैसियतले शपथ ग्रहण गराइयो ।
शपथ ग्रहणलगत्तै निर्वाचन आयोग पुगेर एकीकृत पार्टीले पार्टी दर्ताका लागि निवेदन दियो । साँझ राष्ट्रियसभा गृहमा घोषणासभाको आयोजना गरेर दुवै पार्टी एक भएको जानकारी दिइयो ।
एकीकृत पार्टीको राष्ट्रियसभामा कूल ५९ सदस्यमध्ये ४२ सदस्य छन् । यस्तै प्रतिनिधिसभाका २७५ सांसदमध्ये यो पार्टीको १७४ सांसद छन् । त्यो कूल संख्याको ६३ दशमलव ५० प्रतिशत हो ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो पार्टीले ४७ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको थियो ।
निर्वाचन आयोगले सदर गरेको ९५ लाख ४४ हजार ७७९ मत मध्ये ४४ लाख ७७ हजार २१५ मत एकीकृत पार्टीको रहेको छ ।
सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा सोही पार्टीको बहुमत छ भने प्रदेशसभाका ५५० सदस्यमध्ये ३५१ जना नेकपाको प्रदेश सांसद छन् । यस्तै स्थानीय तहमा समेत सोही पार्टीको बहुमत छ ।
एकतापछि नेपालको इतिहासमा यो नै पहिलो र ठूलो शक्तिशाली कम्युनिस्ट पार्टीको रुपमा स्थापित भएको छ ।
–रासस
प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार ०६:१५