३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

चितवनको खैरहनीमा किसानलाई ९१ लाखको अनुदान वितरण, अनुदान पाएपछि किसान दंग

–शिशिर सिंखडा
३ जेठ, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगर क्षेत्रका किसान तथा कृषि समूहहरुलाई नगद तथा कृषि सामग्री अनुदानमा सहयोग गरेको छ । आज बिहिबार नगरपालिका प्राङ्गणमा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा नगरभित्रका कृषक तथा समूहलाई ९१ लाख रुपैया बराबरको कृषि सामग्री तथा नगद वितरण गरिएको हो ।

किसानहरुको विभिन्न समूहहरुलाई कृषि सामग्रीमा ८० प्रतिशत अनुदानमा विभिन्न सामग्री तथा समूह तथा किसानलाई नै नगद अनुदान पनि उपलब्ध गराइएको थियो । नगरपालिकाले १६ वटा समूहलाई धान काट्ने रिपर मेशिन, १३ वटा समूहलाई पावर टिलर मेशिन र ५ वटा समूहलाई ड्याङ्ग बनाउने मेशिन उपलब्ध गराइएको हो । कुल ६० लाख रुपैया बराबरको सो मेशिनहरु उपलब्ध गराइएको थियो । त्यस्तैगरी किसानहरुलाई पशु विकास कार्यक्रम अन्तर्गत ३१ लाख रुपैया उपलब्ध गराइएको हो । सो अन्तर्गत गाईभैसी गोठ सुधारका लागि ठूला किसान १२ जनालाई प्रति किसान ५० हजार तथा साना किसान २५ जनालाई १५ हजारका दरले रकम उपलब्ध गराइएको थियो ।

बाख्रा गोठ सुधार कार्यक्रम अन्तर्गत ठूला किसान १४ जनालाई २० हजारका दरले तथा साना किसान १२ जनालाई १५ हजारका दरले र आयआर्जन तर्फ नै बाख्राको पकेट कार्यक्रम अन्तर्गत ३ वटा समूहलाई पनि ५० प्रतिशत अनुदान प्रति समूह १ लाख २७ हजार ५ सयका दरले चेकबाट रकम प्रदान गरिएको थियो ।

पंक्षी बजार प्रवद्र्धन कार्यक्रम अन्तर्गत मिल्क एनालाइजर सेट ९ वटा दुग्ध उत्पादक सहकारी संस्थालाई १÷१ लाखको दरले र ५० लिटर चिलिङ भ्याट एउटा सहकारी संस्थालाई १ लाख रुपैया अनुदान दिइएको थियो । त्यस्तै डेरी पसल अन्तर्गत एउटा संस्थालाई रु. ५० हजार अनुदान दिइएको थियो । व्यवसायिक पशुपालन विस्तार कार्यक्रम अन्तर्गत च्यापकटर अनुदान १३ कृषकलाई १५ हजारका दरले उपलब्ध गराइएको थियो भने मल फाल्ने गाडा २० जना किसानलाई ३ हजारका दरले अनुदान उपलब्ध गराइयो ।

कृषि क्षेत्रको समस्या समाधान गर्न प्रतिवद्ध छु – कृषि मन्त्री लामा
सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ३ का कृषि मन्त्री दावा दोर्जे लामाले सो औजार तथा चेक किसानहरुलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री लामाले यस खैरहनी क्षेत्रलाई कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना भएको भन्दै आफु र आफ्नो सरकार यस तर्फ सकारात्मक भएको बताए । हाल कृषि क्षेत्रमा थुप्रै समस्याहरु देखा परेकाले सो समाधान गर्न पनि आफु प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले कृषि पेशामा धेरै समस्या रहेको भन्दै आधुनिक कृषि प्रणाली अपनाउनु आजको आवश्यकता भएकोले नगरपालिकाले कृषकमूखी कार्य गरेको बताए । कृषकहरुलाई कृषि औजार र कृषि कार्यमा अनुदान दिन आगामी वर्ष पनि जारी राख्ने बताउँदै कृषि क्षेत्रको विकास र प्रवद्र्धनको लागि किसानहरुसँग सल्लाह, सुझाव लिएर सहकार्य गर्दै थप सहयोग गर्ने समेत उनले बताए । लागत मूल्य घटाएर उत्पादन बढाउन आजको आवश्यकता रहेकोले किसानहरुले पनि कृषि पेशलाई व्यवसायिक रुपले अगाडि बढाउनुपर्ने समेत उनले बताए ।

नगरपालिकाकी उपप्रमुख सुनिता खरेल थपलियाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, प्रशासकीय अधिकृत प्रकाश पौडेल, कृषि तथा आर्थिक विकास समितिका संयोजक कारीराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नगर प्रमुख चौधरीको अध्यक्षतामा भएको थियो ।

   

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार २०:३७