७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

ओली एण्ड एसोसिएट्सद्वारा कोरोनाबाट प्रभावित विद्यार्थीहरुका लागि सहयोगकाे घोषणा


-बालगाेपाल उपाध्याय

८ बैशाख, अष्ट्रेलिया । ओली एण्ड एसोसिएट्सले अष्ट्रेलियामा कोरोनाबाट प्रभावित नेपाली बिद्यार्थीहरुलाइ सहयोग गर्ने घोषणा गरेको छ। अस्ट्रेलिया र नेपालमा बिद्यार्थीहरुको लागि शैक्षिक परामर्श, माईग्रेसन, आयकर र सुपरएनुएसन सम्बन्धी सेवा प्रदान गर्दै आएको एसोसिएट्सका प्रबन्ध निर्देशक भवानी ओलीले सहयोगका लागि एसोसिएट्सले तोकेको फारम भरि आगामी १० मे २०२० भित्रमा पठाउनुपर्ने बताउनु भयो ।


एसोसिएट्सले कसैलाई आफ्नो वा पराई नभनी यस विषम परिस्थितिमा सबैलाई समान रूपमा सहयोग गर्ने उद्देश्यले यो राहत प्याकेज घोषणा गरेकाले सहयोग रकम पाउन ओली एण्ड एशोसिएट्सबाट अष्ट्रेलिया आएकै विद्यार्थी हुनु नपर्ने निर्देशक ओलीले बताउनु भयो । ओलीका अनुसार ब्यवसायिक सामाजिक दायित्व पूरा गर्दै कोरोना भाईरसका कारण प्रभावित बिद्यार्थीलाई प्रतिव्यक्ति ५० डलर बराबरको आधारभुत ग्रोसरी सहयोग गर्ने घोषणा गरिएको हो ।

उहाँले कोरोना भाईरसको संक्रमणको अवस्थालाई हेरेर बिद्यार्थीहरुलाई आगामी दिनहरुमा थप सहयोगहरू घोषणा गर्दै जाने र हाललाई अस्ट्रेलियाका बिभिन्न सहरहरुमा अध्यायनरत नेपाली बिद्यार्थीहरु यस राहत प्याकेजबाट लाभान्वित हुन सक्नेछन् बताउनु भयो । ओलीले बिद्यार्थीहरुलाइ संभव भए सम्म विभिन्न शहरमा रहेका नेपाली ग्रोसरी पसलकै कुपन दिने जसले गर्दा बिद्यार्थीलाई सहयोग पुग्ने र नेपाली पसलको व्यवसाय पनि हुने बताउनुभयो ।

यसैगरी एसोसिएट्सले कोरोना भाईरसको संक्रमणको कारण बेरोजगार भएका र दैनिक जीवन यापनमा समेत समस्या भएका विद्यार्थीहरुको लागि गैर आवासीय नेपाली संघ अस्ट्रेलिया र अस्ट्रेलियन एजुकेसन कन्सलटेन्स अलाएन्सको अभियानमा ऐक्यवद्धता जनाइसकेको छ ।

१८ बर्ष देखि निरन्तर संचालित एसोसिएट्सले अस्ट्रेलियामा व्यवसायिक सामाजिक दायित्व अन्तर्गत गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका विभिन्न कार्यक्रमहरू, गोर्खा नेप्लिज कम्युनिटीद्धारा संचालित ओली एण्ड एसोसिएट्स कप फुटबल लिग, सेन्ट जर्ज नेप्लिज क्लब, नेप्लिज अस्ट्रेलियन एसोसिएसन चिल्ड्रेन ट्यालेन्ट नाईट, नेपाली रिक्रियसनल क्लब लगायत दर्जनौं सामाजिक संस्था र कार्यक्रमहरुमा निरन्तर सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार १९:५९