१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रदेश सरकारको २० प्रतिशत बजेट कृषिमा लगानी गरिने

५ वैशाख, काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भूसाल र सातै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रीलाई लकडाउनमा बन्दाबन्दीले कृषि तथा पशुपक्षी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायसँग समन्वय गर्ने निर्णय भएको छ ।

मन्त्री भूसाल र सातै प्रदेशका मन्त्रीहरुसँग भिडियोमार्फत बैठक गरी उक्त निर्णय गरिएको छ । बैठकले बन्दाबन्दीले कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायसँग समन्वय गरिरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालय र सबै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रालयको द्रुत कार्य समूहबीच अझ बढी समन्वय गर्ने निर्णय गरेको छ ।

 

फाइल फाेटाे

त्यस्तै, कृषि तथा पशुजन्य वस्तुको उत्पादन, ढुवानी र बिक्री वितरणलाई अझै सहज बनाउन सङ्घीय कृषि मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्ने, प्रदेशमा भएका कृषि तथा पशुजन्य क्षतिको आँकलन र राहतको प्रस्ताव शनिबारसम्म सबै प्रदेश कृषि मन्त्रालयले सङ्घीय कृषि मन्त्रालयमा उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।

राहत प्रस्तावको निश्चित प्रतिशत सङ्घीय कृषि मन्त्रालयले बहन गर्ने गरी घोषणा गर्ने, प्रदेश सरकारले आफ्नो आवश्यकतासार सो प्याकेजमा थप गरी किसानलाई राहत दिने, आगामी वर्षको बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम र त्यसमा सङ्घ र प्रदेशले गर्ने बजेट विनियोजनका सन्दर्भमा प्रदेशले योजनाका खाका सङ्घ सरकारलाई चाँडै उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकले सबै प्रदेश सरकारको अबको बजेट कम्तीमा २० प्रतिशत कृषिमा विनियोजन गर्न प्रदेश मन्त्रीले पहल गर्ने र सोही अनुपातमा स्थानीय सरकारलाई पनि कृषि बजेटका लागि समन्वय गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार २१:३८