१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

निक्षेपको ब्याजदर घटाउने सरकारी नीति : २७ बैंकलाई डेढ अर्ब नाफा, ग्राहकलाई घाटा !

३ वैशाख, काठमाडाैँ । सरकारी आग्रह अनुसार १ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेका बैंकहरूलाई भने यो निर्णयले ठूलो रकम नाफा हुने भएको छ । यसबाट २७ वटा वाणिज्य बैंकलाई मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त नाफा हुने भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण शिथिल अर्थतन्त्रलाई टेवा दिन राष्ट्र बैंकले ब्याजदर घटाउने नीति अघि सारेको थियो । नेपाल बैंकर्स संघका अनुसार गत पुस मसान्तमा २७ वाणिज्य बैंकसँग ३० खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप थियो । त्यसमध्ये झण्डै आधा अर्थात् ४९ प्रतिशत मुद्दति निक्षेप थियो ।

नेपाली बैंकहरूले औसत ३ महिना अवधिको मुद्दति निक्षेप बढी लिएका छन् । जसका कारण शुरूको महिना करीब २० प्रतिशत मुद्दति निक्षेप परिपक्व हुने बैंकर्स बताउँछन् ।

बैंकर्सका अनुसार नयाँ ब्याजदर नीतिले कुल निक्षेपको ६० प्रतिशत रकममा अब बैंकहरूले १ प्रतिशत कम ब्याज तिरे पुग्छ । त्यसबाट वाणिज्य बैंकहरूलाई मात्रै वैशाखमा १ अर्ब ५८ करोड रुपैयाँ अतिरिक्त नाफा प्राप्त हुनेछ ।

बैंकर्सले कर्जाको ब्याज भने जेठ १ गतेबाट मात्रै घटाउने भनेका छन् । निक्षेपकर्तालाई तिर्नुपर्ने ब्याजदर वैशाखबाट घट्ने, ऋणीसँग लिने ब्याज जेठमा मात्रै घट्ने हुँदा बैंकहरूलाई यति ठूलो नाफा पुगेको हो । विकास बैंक र वित्त कम्पनीले पनि यसरी नै नाफा आर्जन गर्नेछन् ।

तर बैंकर्सले राष्ट्र बैंकको ब्याजदरसम्बन्धी नीतिका कारण यस्तो देखिएको बताए । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटबढ गर्दा आधारदर गणना गरेर मात्रै गर्नुपर्ने व्यवस्था गरेको छ । ‘हामीले वैशाखमा निक्षेपको ब्याजदर घटाउँदा वैशाख मसान्तमा मात्रै आधार दर कति घट्यो भन्ने तथ्यांक निकाल्न सक्छौं,’ नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘त्यसपछि मात्रै ऋणको ब्याजदर घटाउन पाइने भएकाले १ महिनाको अन्तर पर्न गएको हो ।’

उनले निक्षेपको ब्याजदर घटाएकै दिनबाट कर्जाको ब्याज पनि घटाउने गरी राष्ट्र बैंकले बाटो खोलिदिए आफूहरू त्यसो गर्न तयार रहेको बताए । ‘तर त्यसका लागि राष्ट्र बैंकले आधारदर अनुसार ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था संशोधन हुनुपर्छ,’ उनले भने ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका दाहालले अर्को पटक ब्याजदर बढाउनुपर्दा यसरी नै बैंकलाई घाटा पर्ने जानकारी दिए ।

‘भोलि बैंकमा पैसा अभाव भएर ब्याजदर बढाउनुपर्ने अवस्था आयो भने फेरि बैंकलाई यसरी नै एक महिनाको अतिरिक्त ब्याज घाटा हुन्छ,’ दाहालले भने, ‘त्यसबेला समायोजन हुने भएकाले अहिलेको बचतलाई नाफा भन्न मिल्दैन ।’ तर राष्ट्र बैंकका अधिकारी भने विगतमा बैंकहरूले पहिले ऋणको ब्याज बढाएर पछि मात्रै निक्षेपको ब्याज बढाएको बताउँछन् । ‘अब के गर्छन् थाहा छैन तर यसअघि ब्याजदर बढ्दो क्रममा हुँदा पनि बैंकहरूले शुरूमा कर्जाको ब्याजदर बढाएर यसरी नै अतिरिक्त नाफा कमाएका थिए,’ राष्ट्र बैंकका एक निर्देशक भन्छन् ।

दाहाल भने यो संकटको समयमा बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्वलाई बढाइरहेको र ग्राहकलाई राहत दिन अग्रसर रहेको बताए । उनले आफूहरू होटेल, उड्डयनजस्ता कोरोना संकटबाट अतिप्रभावित क्षेत्रका ऋणीलाई आधार दरमै कर्जा दिनेबारे छलफल शुरू गरेको जानकारी दिए ।

‘यस्तो बेला हामीले आफ्ना ग्राहकलाई शून्य नाफामा ऋण दिनुपर्छ भनेर छलफल शुरू गरेका छौं,’ उनले भने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार ०९:५५