२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

-लक्ष्मण सिटाैला (शिवपुरी)

मेरो एक प्रेमिका छिन
नामले म उनीलाई “माया” भनेर सम्बोधन गर्छु
मलाई असाध्य माया गर्छिन
यतिसम्म माया गर्छिन कि
मैले कपडा मिलाएर लाएको उन्लाइ मन पर्दैन रे
अरु केटीले म प्रती आँखा लाउछन भन्छिन।

मैले मजाले बत्तिस दन्त देखाएर नहास्नु भन्छिन
मेरो मीठो हासो देखेर अरु केटी म प्रती सल्किन्छ भन्छिन
मैले फेसबुकमा फोटो अप्लोड नगर्नु भन्छिन
धेरै केटीले लाइक र कमेन्ट् गर्छन भन्छिन
मैले सफा भएर दार्ही जुँघा नखौरिनु भन्छिन
सबै केटीले मलाई घुरेर हेर्छनरे भन्छिन।

कति चोटि त झगडा परिसक्यो हाम्रो
मैले केही मीठो मसिनो पनि नखानु रे
मीठो मसिनो खाए भने म स्वस्थ र बलियो हुन्छु
अनि अरु केटीले मलाई पछ्याउछन रे भन्छिन
मैले नयाँ कविता नलेख्नु भन्छिन
मैले बिहानको घाममा ननिस्किनु भन्छिन
मैले बाटोमा हिंड्दा दायाँबायाँ नहेरी हिंड्नु भन्छिन
मैले सङ्गीतको कुनै नयाँ धुन नबजाउनु भन्छिन।

मैले कुनै डाडामा गएर चराहरुसग नबोल्नु भन्छिन
मैले सहरमा घुम्न ननिस्कनु भन्छिन
मलाई हाट भर्न र मेलापात नजानु भन्छिन
मलाई घरबाट बाहिर ननिस्किनु भन्छिन
यसरी बर्सौ भयो मैले घाम नतापेको
चराहरुसग मिलेर गीत नगाएको
आकाशलाइ फर्केर नहेरेको
बारीमा जुन हिडेको नहेरेको
गुलाफ हासेको नहेरेको।

कहिलेकाही सगै हिड्दा
मेरो मुखमा घाम नलागोस भन्छिन
मेरो अनुहारमा सकेसम्म बादलै लागोस भन्छिन
उनलाइ भेटेपछी मैले आफ्नो इछ्यामा होइन
उनको इशारा अनुसार बाचिरहेको छु
घरको दलिनमा गौथलीले गुड लगाको नहेरेको धेरै भो
धेरै भो बिहान उठेर सुर्यलाइ पानी नचढाएको पनि
उनले भनेकी छिन-
मैले आँखा खोलेर यो सन्सार नहेर्नु ।

धेरै भयो मैले नारायणगोपाल र तारादेवीको नसुनेको
धेरै भो मैले सङ्गीतको कुनै नयाँ धुन कम्पोज नगरेको
हाम्रो हरेक भेटमा उनी मेरो मोबाईलको कल डिटेल्स हेर्छिन
कुनै केटीले फोन गरेकी छिन भने धेरै प्रश्नको ओइरो लाग्छ
काहाकी?
कहिले देखि साथी ?
किन फोन गरेकी ?
के काम थ्यो
कतै भेट्यौकि?
तपाईलाई केटीले फोन गरेको मलाई मन पर्दैन भन्छिन।

मलाई त कहिलेकाही यस्तो लाग्छ कि
उनी मेरो एम फिल कि गाइड हुन
र म केही नजान्ने बुङ्गे विद्यार्थी हु
जुनदिन देखि म उनको प्रेमी भए
त्यही दिन देखि मेरो इच्छा र स्वतन्त्रता हरण भएको छ।

मेरो हास्ने स्वतन्त्रता बन्दकमा पर्यो
मेरो गाउने स्वतन्त्रता बन्दकमा पर्यो
मेरो नाच्ने स्वतन्त्रता बन्दकमा पर्यो
उनी मेरो प्रेमिका कम मालिक्नी हाभी हुँदै गइन
उनी चाहन्छिन मैले नगावोस
उनी चाहन्छिन मैले नखाओस
उनी चाहन्छिन मैले यो दुनियाँ नदेखोस
ऊनी चाहन्छिन म अरु कोहिसग नबोलोस
म दुब्लो पातलो भोको मैलो फोहोरी
एउटा उजाड ऋतुजस्तै मुर्झाएर
कतै एकान्त कुनामा थन्किएर बसोस।

उनी चाहन्छिन म उनको मात्रै भएर बाच्न सकु
उनी चाहन्छिन म उनको मात्रै प्रशंसा गरु
उनी चाहन्छिन म उनको मात्रै गीत लेखु
उनी चाहान्छिन म उनकै मात्र सम्झना गरु
कहिलेकाही त यस्तो लाग्छ कि
म किन स्वतन्त्र जङ्गलमा हुर्केको धुपीसल्लो हुन सकिन
कमसेकम आफ्नो पिडामा
बेस्सरी सुसाउने स्वतन्त्रता हुन्थ्यो नि मलाई ।

उनकै चाहनामा म कति भोको बसु
उनको चाहनामा म कति नहासी बसु
उनको चाहनामा म कति फोहोरी बसु
उनको चाहनामा म कति कसैसँग नबोली बसु
उनको चाहनामा म कति दुब्लो बाचु
कहिलेकाही त मलाई यस्तो लाग्छ
कि म उनको प्रेमी हु वा दास ?।

सबै सबै सपनालाई उनको इछ्याको आगोमा होमेर
म कतिन्जेल बलिरहन सकुला र?
यो धरतीमा
एउटा मान्छेले अर्को मान्छेलाई स्वतन्त्र र निर्भय बाचेको
हेर्न सक्ने भए
दुनियाँमा किन यति पाप बढथ्यो र ?
यो शान्त शीतल धरतीमा किन यति ताप बड्थ्यो र
हामी पुरुष महिलालाई स्वतन्त्रता कम भो भन्छौ
र आफ्नो स्वतन्त्रता पनि तिनैलाइ राख्न दिन्छौ
र आफू आजिवन तिनकै दम्भको धुनिमा
हारेर बाचिरहन्छौ र बाचेर हारिरहन्छौ।

आजकल यस्तो लाग्छ कि ” नित्सेले” सयौ बर्ष अगाडि
ईश्वर मरिसकेको घोषणा गर्दा
शायद तिन्ले पनि मलाई जस्तै ईश्वरले सारै दुख दिएको हुनुपर्छ ।
मानिसलाई सबैभन्दा प्यारो उस्को आफ्नो स्वतन्त्रता हो
मानिसलाई सबैभन्दा प्यारो उस्को उ नै हो
“प्रेम” स्वतन्त्रता भन्दा कहिले ठुलो हुन सक्तैन
“प्रेम” ब्यक्तिको अहम भन्दा कहिले महत्त्व हुन सक्तैन
किनभने “प्रेम” गर्नका लागि पनि
पहिलो सर्त ब्यक्तिको अन्तर्निहित स्वतन्त्रता हो
स्वतन्त्रता बाचेमात्रै प्रेम बाचिरहन्छ
स्वतन्त्रता बाचेन भने प्रेम पनि मर्छ

२०७६ चैत ३० गते २२४० बजे
[email protected]

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार १९:२५