७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

कोरोना प्रभावित विद्यार्थीहरुका लागि एक्स्पर्ट फाउन्डेसनद्वारा दुई लाख डलरकाे कोष स्थापना


-बालगोपाल उपाध्याय

१ वैशाख, अष्ट्रेलिया । कोरोना महामारीको कारणले अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज अन्तर्गतको परोपकारी संस्था एक्स्पर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना गरेको छ ।

एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक बद्री अर्यालले कोरोनाभाइरसको महामारीबाट अस्ट्रेलियामा रहेका बिद्यार्थीहरुको रोजगारीमा असर गरेको र तिनका अभिभावकहरु पनि अहिले प्रभावित भएको यथार्थलाइ पनि मध्यनजर सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले सहयोग कोष स्थापना गरेको बताउनु भयो ।

दुई लाख अष्ट्रेलियन डलर मध्ये एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तर्राष्ट्रिय बिद्यार्थीहरुको सहयोगका लागि एक लाख पचास हजार डलर र अन्य अन्तर्राष्ट्रिय बिद्यार्थीहरुको सहयोगका लागि क्रियाशील बिभिन्न सामाजिक संघ संस्थाहरु मार्फत सहयोग गर्ने गरी पचास हजार डलर छुट्टाईएको छ ।

निर्देशक अर्यालले कोरोना संकट शुरु भए पछि बिद्यार्थी थप निस्शुल्क परामर्शहरु दिने, बिश्वबिद्धालयहरुमा छात्रवृत्तिको लागि पहल गर्ने , कोर्ष परिवर्तनका लागि सहयोग गर्ने देखि बिश्वबिद्यालयहरुबाट पनि राहतको लागि पहल गर्दै आएको र केही विश्वविद्यालयहरुले राहतको घोषणा समेत गरिसकेको बताउनु भयो । उहाँले १ अक्टोबर २०१९ देखि हालसम्म अस्ट्रेलिया आएर रोजगारी नै नभएका, रोजगारी भएर पनि महामारीका कारण रोजगारी गुमाएका र एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई उनीहरुको आधारभूत आवश्यकता पुरा गर्नका लागि केहि सहज पुगोस् भन्ने उद्देश्यले तीन सय डलरको खाद्यान्न खरिदका लागि कार्ड उपलब्ध गराइने बताउनु भयो ।

निर्देशक अर्यालले अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्यूनीकरण गर्न आफूहरुले सुरु देखि नै आफ्नो सकृयता कायम गर्दै आएको र यसका लागि हामीले विभिन्न सरकारी एवं गैरसरकारी निकायहरु, शैक्षिक संस्थाहरु र सामुदायिक संघ संस्थाहरु सँग नियमित सम्पर्क र सम्वादको माध्यमबाट समस्याको पहिचान र यसको समुचित ब्यबस्थापनका लागि आवश्यक पैरवी गरिरहेका बताउनुभयो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार १२:१९