३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

फेरि बढ्यो इन्धनको मूल्य, कालोबजारी त गर्दै छैन अायल निगम ?

३ जेठ, काठमाडाैँ । इन्धनको मूल्य गएरातिदेखि लागू हुने गरी फेरि बढेको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटरमा दुई रुपैयाँ बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै डिजेल र पेट्रोलमा प्रतिलिटरमा दुई रुपैयाँ बढाइएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल/मटीतेल ९२ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार पेट्रोलमा ७२ पैसा नाफा र डिजेलमा भने २ रुपैयाँ २९ पैसा घाटा रहेको छ । लगातार इन्धनको मूल्य बढेर आएपछि निगमको नाफा शून्यमा झरेको छ ।

इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले बुधबार पठाएको नयाँ मूल्यअनुसार इन्धनको मूल्य बढेर आएकाले निगमले मूल्य समायोजन गरेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले पछिल्लो चार महिनायता लगातार इन्धनको मूल्य बढाउँदै आएको छ । हावाइ इन्धनमा यसअघि नै कालाेबजारी गरेकाे निगमले यसपटक निरन्तर मूल्य बढाउँदै लैजाँदा मूल्यमा कालाबजारी गरिरहेकको छ कि भन्ने अाशंका उब्जिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ०९:१२