२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतकाे बीचमा रहने विश्व बैंककाे प्रक्षेपण

३० चैत, काठमाडाैँ । विश्व बैंकले नेपालको यस वर्षकाे आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि २.८ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ । कोरोना भाइरसको महामारीले सिर्जना गरेको महामन्दीलाई दृष्टिगत गर्दै विश्व बैंकले नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो । ६ महिनाअघि विश्व बैंकले नेपाली अर्थतन्त्र ६.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकको अर्धवार्षिक प्रकाशन ‘साउथ एसिया इकोनोमिक फोकस’ सार्वजनिक गर्दै विद्यमान अवस्थालाई भयावह अवस्थाका रुपमा चित्रण गरेकाे छ । दक्षिण एसिया क्षेत्रमा अहिलेको अवस्था ४ दशक यताकै खराब रहेको विश्व बैंकले जनाएको छ ।

नेपालको उद्योग, व्यवसाय र सेवा क्षेत्रमा कोरोना भाइरसको महामारीले सबैभन्दा बढी धक्का लागेको छ । समग्र मागमा धक्का लागेको छ । विप्रेषण र आयातमा आधारित नेपाली अर्थतन्त्रमा सबैभन्दा बढी सेवा क्षेत्रले ५८ प्रतिशत र कृषि क्षेत्रले २७ प्रतिशत योगदान दिएका छन् । सेवा क्षेत्रमा परेको मारले समग्र मागमा धक्‍का (डिमाण्ड शक) सँगै वित्तिय क्षेत्रमाथि सबैभन्दा ठूलो दबाब उत्पन्न हुने विश्व बैंकले उल्लेख गरेको छ । महामारी लम्बिदैं गए सेवा र औद्योगिक क्षेत्रमा थप संकुचन आउन सक्छ ।

विश्व बैंकका अनुसार महाव्याधिको सुस्त प्रभाव सन् २०२२ सम्म नै रहेनछ । सन् २०२२ बाट मात्र अर्थतन्त्र पुनःस्थापना हुनसक्ने उल्लेख छ ।नेपालले विद्यमान अवस्थाबाट अर्थतन्त्रलाई पुनःस्थापना गर्नका लागि दातृ निकायहरुसँग थप सहयोगको याचना गरिरहेको छ । विश्व बैंकले जनस्वास्थ्य संकटकाललाई लक्षित गर्दै कोरोना भाइरस निरोध तथा उपचारका लागि स्वास्थ्य पूर्वाधारको अवस्थामा सुधार गर्न २ करोड ९० लाख सहुलियत ऋण दिएको छ । यसका अतिरिक्त विश्व बैंकको भगिनी संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग निजी क्षेत्रले सहुलियत कर्जा लिन सक्ने बताइएको छ ।

यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र भारतको अर्थतन्त्रमा आउने गिरावटले क्षेत्रीय अर्थतन्त्र सुस्त हुनेछ । दक्षिण एसियाली अर्थतन्त्रको विस्तार यो वर्ष १.८ लेखि २.८ प्रतिशतको बीचमा हुनेछ । ६ महिनाअघि विश्व बैंकले दक्षिण एसियाली अर्थतन्त्र ६.३ प्रतिशतले विस्तार हुने आँकलन गरेको थियो ।

दक्षिण एसियाका सबैजसो देशले कोरोना भाइरस फैलन नदिन नागरिकहरुलाई घरमै बस्न आह्वान गर्ने ‘घरबन्दी’ को उपाय अनुसरण गरेका छन् । जसका कारण आर्थिक गतिविधि ठप्पप्राय छन् । आगामी वर्षभने दक्षिण एसियाको क्षेत्रीय आर्थिक वृद्धिदर ३.१ देखि ४ प्रतिशतसम्म हुनसक्ने अनुमान छ । ६ महिनाअघि विश्व बैंकले ६.७ प्रतिशत आर्थिक विस्तार हुने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकले गरेको प्रक्षेपण यसअघि एसियाली विकास बैंक (एडीबी)को अनुमानभन्दा निकै कम हो। एडीबीले भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो ।

प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा १.४ देखि २.९ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरिएको छ। सन् २०२२ मा भने अर्थतन्त्रमा केही सुधार भई २.७ देखि ३.६ प्रतिशतका बीचमा रहनसक्ने उल्लेख छ।

नेपालको जनसंख्या वृद्धिदर १.१ प्रतिशत मान्दा लगातार दुई आर्थिक वर्षमा प्रतिव्यक्ति आयमा कमी आउने प्रतिवेदनमा जनाइएको छ। विश्व बैंकले यो महामारीका कारण सेवा र औद्योगिक उत्पादनमा थप गिरावट वा संकुचन आई अर्थतन्त्रमा थप प्रभाव पर्ने जनाएको छ।

कोभिड–१९ को संक्रमण रोकथाम र उपचारमा हुने खर्च, स्वास्थ्य सुविधा बढाउन हुने खर्च, उच्च तलबमान, सामाजिक सुरक्षा र स्थानीय तहहरूले महामारी नियन्त्रणका लागि खर्च गर्नका लागि तिनलाई दिइने वित्तीय स्थानान्तरणका कारण बजेट घाटा वृद्धि भई ७.३ प्रतिशत पुग्ने प्रतिवेदनमा उल्लेख छ।

सुस्त आर्थिक वृद्धि र आयात संकुचन हुने कारणले सरकारको राजश्व भने संकुचित हुने प्रतिवेदनमा जनाइएको छ। सीमित स्रोत परिचालन क्षमताले चालु आर्थिक वर्षमा नेपालको खुद ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३५ प्रतिशत पुग्ने प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार १४:०२