१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

कालु पाँडेको समाधिस्थललाई ऐतिहासिक ठाउँ बनाउने ओलीको घोषणा


९ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताएका छन । बुधबार इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’को यहाँ उद्घाटन गदै उनले कालु पाँडेले नेपालको एकीकरण गर्न सहयोग पु¥याएकाले समाधिस्थललाई पर्यटकीय र ऐतिहासिकस्थल बनाउने बताए ।

उनले समाधि रहेको स्थान दहचोकमा कालु पाँडेको शालिक बनाउने समेत घोषणा गरे । प्रधानमन्त्री ओलीले पुर्खाले निर्माण गरेका नेपालका गढी र किल्लालाई संरक्षण गर्नुपर्ने धारणा राखे । उनले दहचोकको विकासका लागि जनताको उत्साह, सहभागिता र अठोट हुनुपर्ने बताए ।

यस्तै, प्रधानमन्त्री ओलीले सोही ठाउँमा रहेको कालु पाँडेको समाधिस्थलमा माल्यार्पणसमेत गरेका थिए । कालु पाँडे घाइते भएका बेला ‘गोरखाको मनकामना मन्दिर देखिने ठाउँमा आफूलाई समाधिस्थ गर्नू’ भनेपछि उक्त ठाउँमा कालु पाँडेलाई समाधिस्थ गरिएको थियो ।

यसैगरी, प्रधानमन्त्री ओलीले उक्त ठाउँमा गोरखा, धादिङ र नुवाकोट देखिने गरी चन्द्रागिरि नगरपालिकाले निर्माण गर्न थालेको भ्यू टावरको पनि शिलान्यास गरे । करिब रु ३० लाखको लागतमा निर्माण हुन थालेको भ्यू टावर पाँच तले हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार २२:२०