२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

प्राइम लाइफ इन्सुरेन्सको २ लाख ७१ हजार ९७८ कित्ता सेयर लिलामी आजबाट


२ जेठ, काठमाडौँ । प्राइम लाइफ इन्सुरेन्सको आजदेखि सर्वसाधारण समूहको २ लाख ७१ हजार ९७८ कित्ता सेयर लिलामीमा आउने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद जेठ ९ गतेसम्म हुनेछ । कम्पनीले यसअघि फागुन २७ गतेदेखि वैशाख २ गतेसम्म ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

यसमध्ये २ लाख ७१ हजार ९७८ कित्तामा आवेदन नपरेपछि बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियाबाट बेच्न लागिएको हो । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । हाल प्राइम लाइफको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ छ । लिलामी सेयर बिक्री भएपछि चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी भर्न मिल्नेछ । कम्पनीको चैत १४ गते सम्पन्न सभाले यही पुँजीबाट १२.५५ प्रतिशत बोनस दिने प्रस्ताव पनि पारित गरेको छ ।

बोनसपछि चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २८ पैसा रहेको प्राइमको प्रतिसेयर नेटवर्थ भने २६९ रुपैयाँ ३१ पैसा छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार ०७:५३