२४ पुष २०८१, बुधबार | Wed Jan 8 2025

विश्वमै दुर्लभ मानिएको एकसिंगे गैँडा मृत फेला प¥यो

१ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहास्थित ढुंग्रे खोलामा आज एक गैँडा मृत अवस्थामा फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले आज सौराहाको ढुंग्रे खोलामा मृत फेला परेको गैँडा उमेरको कारण मरेको बताए । करीब ३५ वर्षको गैँडा खोलाको पानीमा मृत अवस्थामा फेला परेको निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए ।

खाग र खुर सुरक्षित रहेको गैँडालाई आजै परीक्षण गरी गाडिएको छ । उक्त बुढो गैँडा लामो समयदेखि सौराहा आसपास डुल्दै आएको थियो । यो सँगै चालु आर्थिक वर्षको अहिलेसम्म कालगतिले २४ वटा गैँडा मरिसकेका छन् । अघिल्लो आर्थिक वर्षमा कालगतिले २५ गैँडा मरेका थिए ।

विश्वमै दुर्लभ मानिएको एकसिंगे गैँडा प्राकृतिक बासस्थानमा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा गैँडाको मुख्य बासस्थान भने चितवन राष्ट्रिय निकुञ्ज हो । यहाँ पछिल्लो अनुगमनमा ६०५ गैँडा भेटिएको तथ्यांक छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार २१:०९