४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विद्यालय बन्द गराउन सैनिक महाविद्यालयमा आफ्नै साथीको निर्घात कुटपिट

१ जेठ, चितवन । खैरहनी नगरपालिकाको पर्सास्थित आवासमा शनिबार बिहान ३ बजे आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यका साथ सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ ।

आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका वडा नं १० निवासी सिर्जना पौडेल लामिछानेका छोरा १४ वर्षीय श्रीनव लामिछानेलाई मार्ने उद्देश्यका साथ कुटपिट गरेका हुन् ।

पीडित बालककी आमा सिर्जनाका अनुसार, छोराको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको छ भने आँखामुनिको हड्डी भाँचिएको छ । घाँटीमा हातले थिच्दा नील डाम परेको छ भने दुवै आँखामा रगत जमेको छ ।

पीडित बालकका अनुसार गहिरो घाउका कारण नाक र मुखबाट समय समयमा रगत बग्ने समस्या देखिएको छ ।

सिर्जनाका अनुसार बालकलाई भरतपुरको मनकामना अस्पताल र भरतपुर अस्पतालमा सिटी स्क्यानसहित स्वास्थ्य परीक्षणपछि आज प्रहरीमा उजुरी दर्ता गरिँदैछ । घटना भएपछि विद्यालयले घटना लुकाउन समयमै जानकारी नदिएको गुनासो पिडितले गरीन् । अन्य अभिभावकबाट सूचना पाएपछि आफूले शनिबार दिउँसोमात्रै छोरालाई भेटेर घर ल्याएको र उपचार थालेको बताइन् ।

कक्षा ९ मा अध्ययनरत श्रीनवले बिहान ३ बजेतिर साथी अनिस श्रेष्ठले पिसाब फेर्न जाउँ भनेर शौचालय जाँदा घटना घटेको बताए

घटनापछि श्रीनवलाई बिहान ३ः४५ बजे स्थानीय चौधरी पोलिक्लिनिकमा उपचार गरिएको श्रीनवले बताए । बिहान १० बजेतिर विद्यालयका निमित्त प्राचार्य भविलाल न्यूरेले पीडित बालकका बुबा नवराज लामिछानेलाई टेलिफोन गरेको तर घटनाको विषयमा केही नबताएको लामिछानेले बताए । पीडित बालकका परिवारले जघन्य घटना हुँदासमेत विद्यालयले लुकाएको आरोप लगाएका छन् ।

यस विषयमा जानकारी लिन खोज्दा नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले घटनामा संलग्न तीनजना विद्यार्थीलाई निलम्बन गरिएको बताए ।
कक्षा ६ भन्दामाथि मात्रै पढाइ हुने सो विद्यालयमा छात्रलाई अनिवार्य आवासमा राख्नुपर्ने व्यवस्था छ भने छात्रालाई घरबाटै आउने जाने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार १८:३५