१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेशमा पठायो मेडिकल सामग्री

१४ चैत, सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली प्रदेशका लागि अत्यावश्यक विभिन्न मेडिकल सामग्री पठाएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी मन्त्रालयले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि ती सामग्री पठाएको हो ।

कोरोना भाइरस सङ्क्रमणमा पूर्व सावधानी, स्वास्थ्य परीक्षण, परीक्षणमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मन्त्रालयले सर्जिकल मास्क, स्यानिटाइजर, हेन्ड मास्कलगायतका व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतका स्वकीय सचिव तपेन्द्र बिसीका अनुसार सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयलाई प्रदेशभरिका लागि सर्जिकल मास्क ३० हजार थान, भिटिएम ४० थान, स्प्रे पम्प पाँच थान, कोरोना भाइरस टेस्ट पाँच पिस, हातेपुस्तिका, ल्याब टेस्ट २० वटा, पिपिई ५० सेट, आइसाइट ५०, स्यानिटाइजर ३० वटा, ह्यान्डमास्क ५० वटा हस्तान्तरण गरिएको छ ।

त्यस्तै, मन्त्रालयले पठाएको सर्जिकल मास्क, स्यानिटाइजर पश्चिम सुर्खेतका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई वितरण गरिएको छ ।

राज्यमन्त्रीका स्वकीय सचिव बिसीले गाउँ तथा नगरपालिकाका सम्बन्धित स्वास्थ्य शाखा प्रमुखलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो । कर्णाली प्रदेशका लागि एक ट्रक स्वास्थ्य सामग्री पठाउन मन्त्रालयले ढुवानीको तयारी गरिरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार १५:२३