१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

प्रदेशको राजधानी र नामबारे छलफल गर्न बोलाइएको प्रदेश ६ को संसद सूचना टाँसगरी स्थगित


९ फागुन, सुर्खेत । प्रदेश नं ६ को बुधबार बस्ने भनिएको प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगन भएको छ । प्रदेशसभाको चौथो बैठक यही फागुन १२ गते अपराह्न १ बजेसम्मका लागि स्थगन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।अधिकांश प्रदेशसभा सदस्य सुर्खेत बाहिर भएका कारण बैठक स्थगन गरिएको हो ।

बुधबारको बैठकमा महत्वपूर्ण प्रस्तावमाथि छलफल गर्नुपर्ने भएको हुँदा अधिकांश प्रदेशसभा सदस्य सुर्खेत बाहिर भएका कारण बैठक स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । बुधबारको बैठकमा प्रदेशको राजधानी र प्रदेशको नामाकरणबारे छलफल गर्ने कार्यसूची थियो ।

मस्यौदा समितिको संयोजकमा नेपाली
प्रदेशसभा संसदीय मस्यौदा समितिको बैठकले प्रदेशसभा सदस्य सीता नेपालीलाई समितिको संयोजक चयन गरेको छ । समितिका ज्येष्ठ सदस्य यज्ञवहादुर बिसीको अध्यक्षतामा बसेको समितिको बैठकले मस्यौदा समितिको संयोजकमा नेपालीलाई चयन गरेको समितिका सदस्य धर्मराज रेग्मीले जानकारी दिए । मस्यौदा समितिले प्रदेशसभाको नियमावली आगामी १५ दिनभित्र निमार्ण गरी सभामा पेश गर्ने कार्ययोजना रहेको सदस्य रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार २१:४२