८ चैत्र २०८२, आईतवार | Mon Mar 23 2026

उहानका बासिन्दालाई अप्रिल ८ देखि अन्यत्र जान खुला गर्ने सरकारको तयारी

११ चैत, उहान । नयाँ कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण रोक्ने उद्देश्यले उहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो ।

तर उहानबाट बाहिर जान चाहने व्यक्तिहरुले आफूसँग सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराएको हरियो स्वास्थ्य स्टिकर देखाउनु पर्नेछ ।प्रान्तीय कोविड–१९ नियन्त्रण केन्द्रले जारी गरेको सूचनामा उहान बाहिरका स्वस्थ व्यक्तिमा कोरोना फैलिन नपाओस् भन्नका लागि निकै कडा नियमहरु र सावधानी अपनाउन नागरिकलाई आग्रह गरिएको उल्लेख छ ।

हुबे प्रान्तका अरु क्षेत्रमा बुधबारदेखि नै लागू हुनेगरी यातायात खुला गरिएको छ । हुबेमा अलपत्र परेका अन्यत्रका कामदारलाई हुबे बाहिर उनीहरुका कार्यस्थलमा सोझै पठाइने व्यवस्था मिलाइएको छ । हुबेमा अर्को सूचना जारी नहुँदासम्म स्कुलहरु भने बन्द हुनेछन् ।

गत जनवरी २३ मा उहान भित्रिने र बाहिरिने सवारी साधनमाथि रोक लगाइएको थियो । साथै शहरभित्र सार्वजनिक यातायात बन्द गर्नुका साथै उहान बाहिरका उडान र रेलसेवा रोकिएको थियो । यही किसिमका उपायहरु हुबे प्रान्तका अरु क्षेत्रमा पनि लागू गरिएको थियो ।

विगत पाँच दिनसम्म लगातार कुनै कोरोना संक्रमित व्यक्ति नभेटिएको उहानमा सोमबार भने एक व्यक्तिमा कोरोना देखिएको थियो । पूरै हुबे प्रान्तमा सोमबार एक व्यक्तिमा मात्र कोरोनाको संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १५:४१