१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

काम नगर्ने कम्युनिष्ट हुन सक्दैनन्ः महासचिव पोखरेल

१ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले कम्युनिस्टको ‘क’ र कामको ‘क’ मिल्नु पर्ने भन्दै काम नगर्ने जो कोही पनि कम्युनिस्ट हुन नसक्ने बताउनुभएको छ । स्थानीय स्तरका पार्टी कमिटीलाई बैठकका एजेण्डा आर्थिक उत्पादन र श्रम सम्वन्धमा केन्द्रीत गर्न आग्रह गर्दै आर्थिक सम्वृद्धि प्राप्तीको जग निर्माणमा आधारित भएर अघि बढ्न आग्रह गर्नुभएको हो ।

एमाले जिल्ला कमिटी ललितपुरका पार्टी ३ सय ५७ जना नयाँ सदस्यहरुको सपथ गराउँदैं महासचिव पोखरेलले जिल्ला, क्षेत्र र शाखा कमिटीलाई आर्थिक उत्पादनसँग जनतालाई कसरी जोड्ने भन्ने चिन्तन सहित केन्द्रीत भएर कमिटीका बैठकमा एजेण्डा तय गर्न आग्रह गर्नुभयो ।

रक्षामन्त्री समेत रहनुभएका पोखरेलले एमाले नेतृत्वको सरकारको प्राथमिकतामा ‘जनताको सम्वृद्धि’ ल्याउनु भएको बताउँदैं श्रममा आधारित जनता र कार्यकर्ता उत्पादनतिर पार्टी कमिटीहरुको ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

‘अव कार्यकर्ताले भुँइतिर फर्किएर हेर्नुप¥यो, यहाँ यति धेरै घरेलु उद्योगका कुरा छन्, सहकारी आन्दोलन ठिक ढंगले अगाडि बढाउनुपर्ने छ । सहकारी कसरी फस्टाउँछ भन्ने कुरा अव जिल्ला, क्षेत्रिय र शाखा कमिटीको बैठकको एजेण्डा बनाउनुपर्छ’, उहाँले भन्नुभयो–‘पाटनको हस्तकला कसरी प्रवद्र्धन गर्ने भन्ने कुरा अवको बैठकमा एजेण्डा बनाउनुस र आर्थिक उपार्जन तिर कसरी जोड्ने कुरामा ध्यान दिनुस ।’

अहिलेको आवश्यकता श्रम र काममा आधारित कार्यकर्ता भएकोे उहाँको भनाई थियो । ‘कामबाट अलग भएको बतासीएर हिँड्ने एमाले अव काम लाग्दैन’, पोखरेलले भन्नुभयो–‘ललितपुरको सन्दर्भमा आर्थिक उत्पादनका कुराहरुमा कसरी व्यवस्थित गर्ने भनेर नीति, योजना र कार्यक्रम तय गर्ने काम यहाँको जिल्ला कमिटीको हो, त्यस अनुरुप नै तपाईहरु अघि बढ्नुस ।’

एमालेको अवको राजनीति जिन्दगीसँग गाँसिएको हुनुपर्ने बताउँदै महासचिव पोखरेलले अधिकार प्राप्तीको आन्दोलनमा जनतालाई धेरै दौडाइएको तर अवको राजनीति त्यस्तो नहुने स्पष्ट पार्नुभयो । अवको राजनीति के हुने भन्ने त भन्ने सन्दर्भ उप्काउदैं महासचिव पोखरेलले भन्नुभयो– ‘अव माथि– माथि जेल बसेका कुुरा, त्याग गरेको कुरा, वलिदान गरेको कुरा, भूमिगत र निर्वासित भएका कुरा गरेर कसैको राजनीति चल्दैन । बरु जनताको जिवनलाई सम्वृद्ध बनाउने काम र योजना तथा संकल्प जोसँग छ त्यस्ले सिंगो मुलुक र राजनीतिलाई नेतृत्व दिन सक्छ ।’

उहाँले कम्युनिष्ट पार्टीमा पूर्णकालीन राजनीति अव चल्न नसक्ने स्पष्ट पार्नुभयो । ‘पूर्णकालीन राजनीति गर्ने कुरा कुनै बेला खुब चल्थ्याें । तर काम के गर्छ भन्दा के गर्छ–गर्छ को स्थिति अव रहनुहुँदैन’–पोखरेलले भन्नुभयो–‘म हात जोडेर भन्छु होल टाइमर नभए नहुनुस, बरु २४ घण्टामा दुई घण्टा मात्रै पार्टीलाई समय दिनुस, तर आर्थिक उत्पादनमा मज्जाले लाग्नुहोस, राज्यलाई कर तिर्नुस, वचेको समय पार्टी काम गर्नुस, अव हामीले खोजेको कार्यकर्ता यस्तो हो ।’

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार ०८:४७