२४ पुष २०८१, बुधबार | Wed Jan 8 2025

नुवाकोटको तार्केश्वर गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषणा

१ जेठ, नुवाकोट । नुवाकोटको आठौँ स्थानीयतहको रुपमा रहेको तार्केश्वर गाउँपालिका सोमबारबाट खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ ।गाउँपालिकामा रहेका छवटा सबै वडाका तीन हजार ५११ घरमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांकको आधारमा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले खुला दिसामुक्त क्षेत्र भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले खुला दिसामुक्त क्षेत्र घोषणालाई कार्यान्वयन गरी दिगोरुपमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वच्छ खानेपानी, बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सुझाव दिए ।

त्यस्तै, गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले यसअघि वडा नंं २, ३ र ४ खुला दिसामुक्त क्षेत्र घोषणा भएकोमा बाँकी थप तीन वटा वडासहित सिंगो गाँउपालिकानै घोषणा गर्न सफल भएकाले त्यसलाई कायम राख्न जनताबाट पनि सहयोगको अपेक्षा लिएको बताए ।

उनले खुला दिसामुक्त क्षेत्र कायम गराउन आवश्यकताको आधारमा सार्वजनिक शौचालयको निर्माण र चरम अभाव रहेको खानेपानीको व्यवस्था सहज बनाउन आसन्न आर्थिक वर्ष योजना तथा कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारादेवी रिमाल, वडाध्यक्ष, महिला समूह, महिला स्वास्थ्य स्वंयसेविका, राजनीतिक दलका प्रतिनिधि, शिक्षक एवं विद्यार्थीको सहभागितामा चेतनामूलक झाँकी तथा ¥याली प्रस्तुत गरिएको थियो ।

नुवाकोटमा रहेका बाह्रमध्ये बाँकी चार स्थानीयतहलाई आगामी जेठ ८ गतेभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गरी सिंगो जिल्लालाई नै घोषणा गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार ०७:००