१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अल्लोबाट वार्षिक १० लाख आम्दानी

५ चैत, मुसिकोट । बेरोजगारी समस्याका कारण धेरैजसो युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । कतिपय व्यक्तिले स्वदेशमै गरिएको लगानीले सोचेजस्तो फाइदा नहुने बताउने गरेका छन् तर रुकुम पश्चिममा भने केही महिला उद्यमीले अल्लोे व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१ सल्लेमा रहेको छिपखोला अल्लो कपडाका महिला उद्यामीले अल्लो व्यवसायबाट राम्रो आम्दानी गरेका हुन् ।

अल्लो व्यवसायबाट आफू पनि रोजगारी बन्ने र अरुलाई समेत रोजगारी दिने उद्देश्यले पाँच वर्षदेखि अल्लो व्यवसाय सञ्चालन गरिएको अल्लो कपडा उद्योगकी सञ्चालिका तीर्था पुनको भनाइ छ । उहाँका अनुसार पछिल्लो समय अल्लो कपडाको माग सोचभन्दा राम्रो बन्दै गएकाले अल्लो कपडा बिक्रीबाट वार्षिक रु १० लाखसम्मको आम्दानी हुने गरेकोे बताइएको छ । बर्सेनि ग्रामीण भेगको जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन र सदुपयोगबाट यहाँका महिला अल्लो व्यवसायमा लागेका छन् । विशेषगरी रुकुम पूर्वको ग्रामीण भूभागमा अल्लोको उत्पादन र सङ्कलन बढी हुने गर्दछ ।

अल्लोको रेसाबाट बनाइएका कपडा चम्किलो र टिकाउ हुने भएकाले अल्लो कपडाको माग बर्सेनि बढ्दै गएको छ । अल्लो व्यवसायबाट राम्रो आम्दानी हुने देखिएपछि रुकुम पूर्वको रुकुमकोटमा पनि छिपखोला अल्लो कपडा उद्योगले केही महिलालाई रोजगारी दिएर अल्लो व्यवसाय उद्योग सञ्चालनमा ल्याएको छ । त्यस्तै यहाँको सल्लेस्थित अल्लो कपडा उद्योगमा पनि हाल दुई महिलाले रोजगारी पाएका छन् । अल्लो उद्योगमा रोजगारी पाएसँगै घरपरिवार धान्नसमेत सजिलो भएको उद्योगमा आबद्ध निमा पुनको भनाइ छ ।

आयआर्जनको मुख्य स्रोत मानिएको अल्लो कपडाको प्रयोगले जाडोमा तातो र गर्मी समयमा न्यानो हनुका साथै चर्मरोग नियन्त्रण तथा उच्च रक्तचाप सन्तुलन हुने विश्वास रहेको छ । यहाँको अल्लो उद्योगले विभिन्न ठाउँबाट अल्लोको रेसा प्रतिकेजी रु एक हजारका दरले खरिद गर्दै आएको छ । विशेषगरी अल्लो कपडा कोट, झोला र टोपीका लागि प्रयोगमा आउने गरेको छ । यहाँ बनाइएको अल्लो कपडा जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार १३:२५