१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

तोकिएको हाजिरी नपुगेकाे भन्दै चौध विद्यार्थी एसइईबाट वञ्चित

४ चैत, म्याग्दी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीका १४ जना विद्यार्थी सहभागी हुनबाट वञ्चित भएका छन् । कक्षा ९ मा परीक्षा फारम भरेका तर तोकिएको हाजिरी नपुगेका १४ जना विद्यार्थी एसइईमा सहभागी हुनबाट वञ्चित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । नौ जना छात्रा र पाँचजना छात्र एसइई परीक्षामा सहभागी हुनका लागि अयोग्य पहिचान भएका एकाइका प्रमुख दलबहादुर थापाले बताउनुभयो ।

फाइल फाेटाे

एसइईमा सहभागी हुन कक्षामा ७५ प्रतिशत हाजिर भएको हुनुपर्ने नियम छ । गतवर्ष हाजिरी नपुगेर एसइईमा सहभागी हुन अयोग्य भएका विद्यार्थी सङ्ख्या ३१ जना थियो । विवाह, वैदेशिक रोजगार, पारिवारिक र आर्थिक कारणले पढाइलाई निरन्तरता दिन तथा नियमित विद्यालय आउन नसकेका कारण उनीहरु एसइई परीक्षामा सहभागी हुनबाट वञ्चित भएका हुन् ।

यसवर्ष म्याग्दीका एक हजार ११० जना छात्रा र एक हजार ८७ जना छात्र गरी कूल दुई हजार १९७ जना विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् । एक वटा खुल्ला विद्यालयसहित ७१ वटा विद्यालयका विद्यार्थी सहभागी हँुदैछन् । हेम मावि शिवाङ, जनप्रिय मावि दरवाङ, मङ्गला मावि बाबियाचौर, धवलागिरि मावि सिङ्गा, बेनी सामुदायिक मावि, प्रकाश मावि, न्यु वेष्ट पोइन्ट आवासीय मावि, मुक्तिधाम मावि र मुक्तिमार्ग माविमा परीक्षा केन्द्र तोकिएको छ ।

बेनी सामुदायिक मावि र न्यु वेष्ट आवासीय माविबाहेकका विद्यालयमा सम्बन्धित विद्यालयका प्रअलाई नै केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा केन्द्राध्यक्ष नियुक्त गरेर उत्तरपुस्तिका पठाइसकिएको र प्रश्नपत्र पनि आजसम्म परीक्षा केन्द्रमा पुर्याउने तयारी छ । यसैगरी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माविको दृष्टिबिहीन स्रोत कक्षाका प्रेम विश्वकर्मा मुक्तिधाम मावि भगवती केन्द्रबाट परीक्षामा सहभागी हँुदैछन् । साधारणतर्फ चैत ६ देखि १४ गतेसम्म र प्राविधिकतर्फको १७ गतेसम्म एसइई परीक्षा सञ्चालन हुदैछ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार १४:३१