११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

विद्यालय भवन बनाउन दश करोड अनुदान

३ चैत, काठमाडौँ । दार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले रु १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज यहाँँस्थित भारतीय राजदूतावास र सम्बद्ध निकायका अधिकारीले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नाका साथै एउटा विद्यालयलाई पहिलो किस्ताको रकम पनि हस्तान्तरण गरिएको छ ।

दार्र्चुलाको धापस्थित मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च मावि र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवन निर्माणका लागि महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाबीच बेग्लाबेग्लै सम्झौतापत्रमा हस्ताक्षर भएको हो । .

भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण हुने ती विद्यालय भवनको बोलपत्र आह्वान, ठेक्का लगाउने, अनुगमनलगायत काम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाले गर्नेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार १७:२२