१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका गर्भवती महिलाले गाउँमै गर्भ जाँच गर्न पाउने

-केदार मगर 

१ चैत, खोटाङ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका गर्भवती महिलाले गाउँमै गर्भ जाँच गर्न पाउने भएका छन् । गर्भमा रहेका बच्चाको अवस्था, श्वास–प्रश्वास, मुटुको गति, साथीको अवस्था, पानीको मात्रालगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्वजानकारी लिन नगरपालिकाले एक थान पोर्टेबल भिडियो एक्स–रे मेशिनको व्यवस्था गरेको हो ।

तालिका बनाएर प्रत्येक महिना नगरपालिकाका ११ वटै वडामा भिडियो एक्स–रे मेशिनसहित तालीम प्राप्त एकजना अनमी पुग्ने र वडामै गर्भवती महिलाको गर्भ जाँच गर्ने गरी स्वास्थ्य चौकी दुर्छिमलाई मेशिन हस्तान्तरण गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “गर्भ जाँच गर्नकै लागि जिल्ला अस्पताल दिक्तेल अथवा ओखलढुङ्गा जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “मेशिन भएपछि बर्थिङ सेन्टरमा सुत्केरी गराउन सकिन्छ कि सकिन्न भन्ने आधारभूत जानकारी लिन सकिने भएको छ । यसले अकालमा ज्यान गुमाउनुपर्ने महिलाको बाध्यता हटेको छ ।”

गर्भको बच्चाको अवस्थादेखि सम्भावित खतरा भए÷नभएको विषय आफ्नै गाउँमा थाहा पाउने व्यवस्था भएपछि नगरपालिकाका महिला उत्साहित भएका छन् । स्वास्थ्य चौकी दुर्छिमका एकजना अनमीलाई भिडियो एक्स–रेसम्बन्धी २१ दिनको तालीम दिएर भिडियो एक्स–रे मेशिन खरिद गरिएको जनाइएको छ ।

फाइल फोटो ।

नगरपालिकामा वार्षिक अनुमानित ५५४ जना गर्भवती महिलाको गाउँमै पुगेर गर्भ जाँच गर्ने गरी भिडियो एक्स–रे मेशिन उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लागू गरेको गर्भवती महिलाका लागि भिडियो एक्स–रे कार्यक्रमअन्तर्गत गर्भवतीको गाउँमै पुगेर जाँच गर्ने व्यवस्था गरिएको हो ।

नगरपालिकाले उपलब्ध गराएको भिडियो एक्स–रे मेशिन झोलामा बोकेर हिँड्न मिल्ने किसिमको रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामकुमार भगतले बताउनुभयो । “ग्रामीण क्षेत्रका गर्भवती महिला र गर्भमा रहेका बच्चाको समग्र अवस्थाका विषयमा जानकारी लिन सजिलो भएको छ”, उहाँले भन्नुभयो, “मेशिनको सहायताले सामान्यरुपमा सुत्केरी हुने/नहुने विषयसमेत पहिल्यै थाहा पाउन सकिने भएकाले खतरामा परेका गर्भवतीलाई तत्काल अन्यत्र पठाउन सहज भएको छ ।”

धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रका गर्भवती महिलाका लागि तीन वर्षअघि वनहर्टले भिडियो एक्स–रे मेशिन उपलब्ध गराएको थियो । वनहर्टले प्रदान गरेको मेशिन डेढ वर्षअघि बिग्रेको र तालीम प्राप्त स्वास्थ्यकर्मी पनि सरुवा भएर गएपछि नगरपालिकाले पुनः भिडियो एक्स–रे मेशिन उपलब्ध गराएको हो । हलेसी तुवाचुङ नगरपालिकाका सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रसूति गृह) सञ्चालन गरिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा रहे पनि अहिलेसम्म भिडियो एक्स–रे मेशिन नहुँदा समस्या हुने गरेको थियो । रासस

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार २२:५६