१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पर्यटन उद्योग धराशायी हुन नदिन बैंकको ब्याज घटाएर करमा छूट दिन सांसद् भट्टराईकाे माग

२९ फागुन, काठमाडाैँ । नेकपा सांसद विद्या भट्टराईले कोरोनाको संक्रमणबाट नेपालको पर्यटन उद्योगलाई धराशायी हुन नदिन बैंकको ब्याजदर घटाउने, पुनःकर्जाको व्यवस्था गर्ने र बैंकको किस्तालाई केही पर सार्ने निर्णय गर्न माग गरेकी छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले कोरोनाको असरले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष असर देखिन लागेको भन्दै पर्यटन उद्योगलाई धराशायी बन्नबाट रोक्न बैंकको ब्याजदर घटाउने लगायतका पहल गर्नुपर्ने बताएकी हुन् ।

‘कोरोना भाइरसका कराण नेपालीहरूको बीचमा सन्त्रास निम्तिरहेको देखेका छाैँ, खासगरी कोरोना भाइरसले सामाजिक जनजीवन प्रभावित बनाइरहेको छ । मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष/परोक्ष नकारात्मक असर पर्ने सम्भावना देखेका छौं,’ उनले भनिन्, ‘कोरोनाका कराण नेपालको सम्भावना बोकेको पर्यटन क्षेत्र प्रत्यक्ष शिकार बन्न पुगेको छ, खर्बौं लगानी भएको पर्यटन उद्योग धराशायी हुने जोखिम बढेको छ ।’

देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा र विदेशी मुद्रा आर्जनको क्षेत्र पर्यटन उद्योगलाई धराशायी बन्न नदिन उनले बैंकको ब्याजदर घटाउन तथा होटलले राज्यलाई बुझाइरहेको करमा छूट दिन माग गरिन् ।

‘खर्बौं लगानी रहेको पर्यटन क्षेत्रको अकुपेन्सी अहिले १० र १५ प्रतिशतमा झरेको छ । बैंकबाट ऋण लिएर स्थानीय तहमा पर्यटनको पूर्वाधार बनाएको र राष्ट्रिय पूँजी निर्माणमा लगानी गरिरहेको छ । कोरोनाका कारण पर्यटन क्षेत्रले उच्च ब्याजदर र मासिक किस्ता तिर्न नसक्ने अवस्था आएकाले बैंकको ब्याजदर घटाउन, पुनःकर्जाको व्यवस्था गर्न र एक वर्षसम्मको किस्ता पछाडि धकेल्न कर्जा पुनःताजगी गरेर केही पर सार्न आग्रह गर्छु,’ उनले भनिन्, ‘पर्यटन क्षेत्रका कर्मचारी पलायन हुन नदिन होटलहरूले नेपाल सरकारलाई तिर्ने कर, राजस्व र स्थानीय करमा ५० प्रतिशत सहुलीयत प्रदान गर्न सकियो भने केही राहत पुग्न सक्थ्यो कि ?’

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार १५:२२