११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

भारतमा कोरोनाकाे असरः मार्च १५ बाट सम्पूर्ण आगमनमा प्रतिबन्ध


२९ फागुन, काठमाडाैँ । कोरोना भाइरसको संक्रमणबाट बच्न उत्तरी छिमेकी मुलुक भारतले त्यहा आउने सबैलाई प्रतिबन्ध लगाएको छ । भारतले मार्च १५ बाट लागु हुने गरी विदेशबाट भारत आउन खोजेका सम्पूर्ण आगमनलाई प्रतिबन्ध लगाएको हो ।

कोरोनाभाइरस प्रकोपले महामारी रुप लिएपछि भारतले उक्त कठोर कदम उठाएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । भारतको यात्रा प्रतिबन्ध कोरोना भाइरसको प्रसार रोक्न कुनै देशले लागु गरेको सबैभन्दा कठोर ‘यात्रा प्रतिबन्ध’ हो । अन्य देशले विदेशीहरुको प्रवेशमाथि मात्र रोक लगाइरहेको समयमा भारतले विदेशबाट भारत आउन खोज्ने आफ्नै नागरिकलाई पनि प्रवेश नदिने घोषणा गरेको छ ।

अब अप्रिल १५ सम्म कुनै पनि देशका नागरिक पर्यटक भिसामा भारत आउन पाउने छैनन् । तर कूटनीतिज्ञ, संयुक्त राष्ट्र तथा अन्तर्राष्ट्रिय संगठन, रोजगार र परियोजनामा काम गर्ने विदेशीहरूका भिसा भने कायम रहनेछन् ।

बुधबार शिर्ष मन्त्रीहरुको एक समूहको वैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको थियो । वैठकको नेतृत्व केन्द्रीय स्वास्थ्य मन्त्री हर्षबर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीले गरेका थिए । यात्रा निर्देशिका अनुसार, भारत सरकारले अब मार्च १३ को दिउसो १२ बजेपछि भारतका लागि हिडिसेका विदेशीलाई समेत प्रवेश दिने छैन । प्रतिबन्धमा विदेशमा रहेका भारतीय नागरिकताधारीलाई पनि लागु हुने भए पनि कुटनीतिक नियोगमा काम गर्ने कर्मचारीलाई भने छुट गरिएको छ ।

निर्देशिकामा ‘भारतमा आउनै पर्ने अत्यावश्यक कारण भएकाका विदेशीले तिनको नजिकको भारतीय दुतावास वा वाणिज्यदुतावाससँग सरसल्लाह गर्न सुझाव दिइएको छ ।’ साथै, आफ्ना नागरिकलाई युरोप र अमेरिकाको भ्रमण नगर्न निर्देशन दिएको छ । यो प्रतिबन्ध अप्रिल १५सम्म लागु हुनेछ । भारतको नयाँ यात्रा निर्देशिका विश्व स्थास्थ्य संगठनले कोरोनाभाइरस प्रकोपलाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेपछि आएको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार १३:५०