१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

युवालाई सीप सिकाउँदै तनहुँका स्थानीय तह

२७ फागुन, तनहुँ । तनहुँका विभिन्न स्थानीय तहले युवालाई सीपमूलक तालीम सिकाउन थालेका छन् । दश स्थानीय तह रहेको तनहुँमा युवा लक्षित तरकारी खेती, च्याउखेती, प्लम्बिङ, मोबाइल मर्मतलगायतका तालीम सञ्चालन गरिएको हो ।

ऋषिङ गाउँपालिकाले युवालाई सवारी चालक तालीम प्रदान गरेको छ । गाउँपालिकाले १०० युवालाई सवारी चालकको तालीम प्रदान गरेको र उनीहरु चालक अनुमति–पत्र लिने प्रक्रियामा रहेका गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नं ५ का १२ युवालाई मूढा बनाउने तालीम प्रदान गरेको छ । अध्यक्ष श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा नै प्लम्बर, हेयर कटिङ, चप्पल बनाउने, हाते कडाइ, चुरापोते बनाउनेजस्ता सीपमूलक तालीम प्रदान गरिनेछ । उहाँले भन्नुभयो, “बजारको मागअनुसारको जनशक्ति तयार गर्न सीप प्रदान गरेका हौँ, तालीमपश्चात् व्यवसाय गर्न पनि गाउँपालिकाले सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।

शुक्लागण्डकी नगरपालिका–८ ले युवा लक्षित प्लम्बिङ तालीम सञ्चालन गरेको छ । कान्तिपुर बहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा सञ्चालित तालीममा वडाभित्रका २० युवा सहभागी छन् । साथै शिक्षालयसँगकै सहकार्यमा ४० महिलालाई सिलाइकटाइ, २० जनालाई बेमौसमी तरकारी र २० जनालाई च्याउखेती तालीम प्रदान गर्न लागिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । सीप सिकाएर युवालाई दक्ष तथा आत्मनिर्भर बनाउन तालीम प्रदान गर्न लागिएको उहाँले बताउनुभयो ।

“पाँच वर्षभित्र वडाका प्रत्येक घरमा एक प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको छ, सोहीबमोजिम सीपमूलक तालीम सञ्चालन गरिरहेका छौँ”, वडाध्यक्ष रेग्मीले भन्नुभयो । रेग्मीका अनुसार वडाले गत वर्ष मोबाइल मर्मत, ब्युटिसियन, सिलाइकटाइ र सामुदायिक पशुपालन तालीम प्रदान गरेको थियो । “हातमा सीप भएर विदेशिएकाले पनि राम्रो काम पाएका छन्”, उहाँले भन्नुभयो, “स्वदेशमै भएकाले पनि दक्षताअनुसारको रोजगार पाएका छन् ।”

म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा युवालाई लक्षित गरी मेसन तालीम सञ्चालनको तयारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार एक सय जनालाई तालीम दिन लागिएको छ । “बजारको मागमा आधारित तालीम सञ्चालन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “विगतदेखि नै सीपमूलक तालीमलाई जोड दिइरहेका छाँै ।”

भीमाद नगरपालिकाले इलेक्ट्रिसीयन र प्लम्बरको तालीम सञ्चालनको तयारी गरेको छ । २५÷२५ युवालाई तालीम सञ्चालन गर्न गाउँपालिकाले आवेदन खुलाएको छ । तर तालीम लिनका लागि युवामा इच्छाशक्ति नदेखिएको प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर थापाले जानकारी दिनुभयो । “सीप सिकाएर दक्ष बनाउन खोज्दा युवा इच्छुक भएको पाइएन, बजारमा हामीले सिकाउने सीपको माग छ” उहाँले भन्नुभयो, “यहाँका युवाहरुमा सीपमूलक तालीम सिक्ने जाँगर देखिएन ।”

महिलालाई लक्षित गरी तीन महिने हाते कढाइ सीप तालीम सञ्चालन गर्न लागेको छ । उक्त तालीममा १५ महिलाको सहभागिता रहने नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिक झोलामुक्त नगर घोषणा गर्दै कपडाको झोला बनाउने तालीम सञ्चालन गरेको छ । देवघाट गाउँपालिकाले प्राङ्गारिक तरकारी उत्पादन गर्ने, बाख्रापालन तथा च्याउखेतीसम्बन्धी तालीम प्रदान गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार १०:४०