१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तल्लो सान्जेन जलविद्युत् आयोजनाको सुरुङ निर्माण पूरा हुँदै

२६ फागुन, रसुवा । उत्तरी रसुवामा निर्माणाधीन तल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत्गृहमा पानी ल्याउने मुख्य सुरुङको निर्माण लगभग पूरा भएको छ । सान्जेन जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठका अनुसार निर्माण गर्नुपर्ने तीन हजार ६५० हेडरेस सुरुङमध्ये प्रायः कार्य पूरा भई अब निर्माणको काम ४० मिटर मात्र बाँकी रहेको छ ।

बयालीस दशमलव पाँच मेगावाट क्षेमताको उक्त जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माणको काम भने लगभग पूरा भएको बताइएको छ । सुरुङबाट ल्याइएको पानी तीव्र प्रवाहमा विद्युत्गृहमा पठाउनका लागि आवश्यक पर्ने एक हजार मिटर लम्बाइको पेनस्टक पाइप राख्ने सुरुङ निर्माणको काम पनि धमाधम अगाडि बढिरहेको आयोजनाका प्राविधिकले बताएका छन् ।

 

यसैगरी माथिल्लो सान्जेनमा निर्माण भइरहेको १४ दशमलव आठ मेगावाटको जलविद्युत् आयोजना भने निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ । सान्जेन खोलाको तिलुचे बगरमा पानीको बाँध, एक हजार ३०० मिटरको हेडरेस सुरुङ र विद्युत्गृह समेतका संरचना निर्माणको काम पूरा भए पनि कोरोना भाइरसको असरले उपकरण जडान गर्ने जिम्मा लिएको एक चिनियाँ ठेकेदार कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानमा समस्या आएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयोे ।

दुवै आयोजनाको पानी ल्याउने संरचना भूमिगतको भए पनि विद्युत् उत्पादन गर्ने गृह भने बाहिरी सतहमा हुने आयोजनाले जनाएको छ । आगामी असार महिनासम्म उत्पादन गर्ने लक्ष्य लिइएको माथिल्लो सान्जेन विद्युत् आयोजनालाई पनि चीनमा फैलिएको कोरोना भाइरसले चिनियाँ प्राविधिक आउन नसक्दा उत्पादन ढिलो हुने र तल्लो सान्जेन भने एक वर्षमा पूरा हुने बताइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार ०६:४८