१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

यस बैंकका ग्राहकहरुमा अन्यौल, पैसा झिक्न बैंकमा भिड

२३ फागुन, मुम्बई । भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई) ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय “यस बैंक”बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु यस बैंकका एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न बाध्य भएका छन् । मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका यस बैंकका ग्राहक योगेश शर्माले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले एटिएमबाट पैसा झिक्न खोजें तर यस बैंकले सेवा दिन रोकेको रहेछ । एनईएफटी कारोबार पनि भइरहेको छैन । म यहाँ पैसा झिक्न बिहान ७ बजे आइपुगेको थिएँ ।”अर्का ग्राहकले भन्नुभयो, “यो अति नै पिडादायी कुरा हो । तर मेरो विचारमा आरबिआईले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको हुनु पर्दछ । मेरो विचारमा आरबिआईले ग्राहकको पैसाको सुरक्षा गर्नेछ ।”

भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो । यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन । यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए । कारोबार रोक्का भएको अवधिमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १३:३७