१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कोरोनाको त्रासः क्यालिफोर्नियामा आपतकाल घोषणा

२२ फागुन, क्यालिफोर्निया । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ । अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुले क्यालिफोर्नियाको स्याक्रामान्टो अस्पतालमा मृत्यु भएका ती व्यक्ति ७१ वर्षका पुरुष रहेको जानकारी दिएका छन् । ती व्यक्ति हालै क्रुज जहाजको यात्राबाट फर्किएका हुन् ।

ह्वाइट हाउसले यस रोगको परीक्षणलाई देशव्यापी विस्तार गर्ने बुधबार जानकारी दिएको छ । अमेरिकाका १६ वटा राज्यमा करिब १५० जनामा कोरोना भाइरस देखिएको थियो । विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको संख्या ९२ हजारभन्दा बढी पुगिसकेको छ, र तीमध्ये करिब ८० हजार चीनमा रहेको बिबिसीले जनाएको छ । हाल विश्वभर कोराना पीडित ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वासिङ्टन राज्यका रहेका छन् र पछिल्लो समय यो रोग टेक्सास र नेब्रास्का राज्यमा पनि फैलिएको छ ।यसैबीच वासिङ्टन र फ्लोरिडा राज्य दुबैले गत साता नै स्वास्थ्य आपतकालको घोषणा गरिसकेका छन् । क्यालिफोर्नियामा मृत्यु भएका कोरोना सङ्क्रमित बृद्ध व्यक्ति ग्रान्ड प्रिन्सेज नामको क्रुजमा यात्रारत रहेका व्यक्ति थिए । यो जहाज सानफ्रान्सिस्को हुँदै मेक्सिको पुगेको थियो ।

कोरोनाको त्रास फैलिएसँगै संयुक्तराज्य अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । तर चीन छाडेको १४ दिन पछि भने त्यस्ता यात्रुलाई अमेरिका प्रवेश गर्न दिइने गरिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार कुनै चिकित्सकले कुनै व्यक्तिको परीक्षण गर्ने बताएको खण्डमा त्यस्ता व्यक्तिले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्नै पर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार १७:०९