५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदै

१९ फागुन, सुर्खेत । आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् ।यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले जानकारी दिनुभयो ।

फाइल फाेटाे

यो परीक्षामा पाँच लाख ६५ हजार १३६ मूलसहित तीन लाख ९५ हजार ५९५ थप उत्तरपुस्तिका कर्णालीका दशवटै जिल्लामा निर्देशनालयले पुर्याइसकेको उहाँले बताउनुभयो । उत्तरपुस्तिका छपाइ, ढुवानी र परीक्षा सञ्चालनका लागि रु एक करोड ९० लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । उत्तरपुस्तिका छपाइ र ढुवानी जिम्मा जनक शिक्षा सामग्रीलाई दिएको परीक्षा शाखा प्रमुख शर्माले जनाउनुभयो ।

उहाँका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन प्रत्येक जिल्लाका, एकाइ प्रमुख, सामाजिक विकास कार्यालयका प्रमुख, मानव स्रोत विकास केन्द्रका प्रमुखलाई अनुगमन तथा आचारसंहितासम्बन्धी दुईदिने कार्याशाला गोष्ठी गरिएको छ । स्थानीय तहमा भने माध्यमिक शिक्षा व्यवस्थापनसम्बन्धी प्रत्यक्ष संलग्नताको कानूनी आधार नभएकाले परीक्षाको व्यवस्थापकीय पाटोमा सहयोग गर्न स्थानीय सरकारका प्रमुख, शिक्षा हेर्ने अधिकृतलाई अनुरोध गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार ११:०४