२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

इलामका नर्सहरुले फरक क्षमताका बालबालिकासँग मनाए नर्सिङ दिवस (फोटोफिचर)


२९ वैशाख, इलाम । १९८ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस इलाममा पनि मनाइएको छ । इलाम जिल्ला अस्पतालको नर्सिङ शाखाको आयोजनामा इलाममा नर्सिङ दिवस मनाइएको हो । शनिबार इलाम नगरपालिका बरबोटे स्थित श्री अमर माविमा अध्यानरत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुसँग अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइएको हो । कार्यक्रममा बालरोग विशेषज्ञ डा.सत्यनारायण चौधरीले बौद्धिक अपाङ्गता भएका १८ जना बालबालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरे । परिक्षणपछि उनीहरुलाई औषधी समेत वितरण गरिएको थियो । यस्तै फलफुल, हिटफर्म र प्राथमिक उपचारका सामग्री पनि प्रदान गरियो ।

आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्रािष्ट्रय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । दिवसको यो वर्षको नारा ‘नर्सेज अ भोइस टु लिड ः हेल्थ इज ह्युमन राईट’ तय गरिएको छ । उनले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज पनि सञ्चालन गरेकी थिइन् । यस अवसरलाई नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको नयाँ मोड मानिन्छ ।

‘लेडि विथ दि ल्याम्प’ को उपनामले समेत विश्वमा परिचित फ्लोरेन्सको जन्म सन् १८२० मा ब्रिटेनमा भएको हो । अन्तर्रािष्ट्रय इतिहास, मान्यता र परम्परा अनुसार यो दिवस हरेक वर्ष मनाउदै आइएको र त्यही अनुरुप यस वर्ष पनि मनाइएको इलाम अस्पतालका नर्सिङ अधिकृत मेनुका मोक्त्तानले जानकारी दिइन् । यो दिवसले नर्सहरुलाई उत्प्रेरणा, उत्साह र सामुहिकता प्रदान गर्ने गरेको उनको भनाई छ ।

कार्यक्रममा इलाम अस्पताल बिकास समितिका अध्यक्ष केदार थापा, जिल्ला अस्पताल इलामका प्रमुख डा.पवनजंग रायमाझी, प्रशुती तथा स्त्रीरोग विशेषज्ञ डा.प्रभु शाह, नर्सिङ अधिकृत मेनुका मोक्त्तान, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पौडेल, प्रअ सोमनाथ निरौला लगायतले बोलेका थिए । उनीहरुले नर्सिङ पेशाको महत्वको बारेमा बोले । कार्यक्रममा इलाम जिल्ला अस्पतालमा कार्यरत नर्स तथा कर्मचारीहरुको उपस्थीति थियो ।

विकसित मुलुकमा ६ सय देखि ८ सय जना जनसंख्याका लागि एक जना नर्स र सामान्यतया तीन जना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एक जना नर्सले २० देखि ३० जना बढी बिरामी हेर्नुपरेको छ । नेपाल नर्सिङ परिषद्को पछिल्लो तथ्याङ्क अनुसार ४९ हजार ३४ नर्स, ३० हजार ९ सय २२ अनमी र ८ सय ३५ विदेशी नर्स गरी जम्मा ८० हजार सात सय ९१ नर्स रहेको नर्सिङ अधिृकत मोक्त्तानले जानकार दिइन् । सरकारी तथा निजी स्तरमा गरी साढे २ सय भन्दा शिक्षण संस्थाबाट वार्षिक रुपमा ८ हजार भन्दा बढी जनशक्ति उत्पादन हुने गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १८:५६