९ पुष २०८१, मंगलवार | Tue Dec 24 2024

जलवायु परिवर्तनको प्रभावले मासियो स्याउ

१८ फागुन, बैतडी कुनै समय लटरम्म स्याउ फल्ने सतबाँझ फार्ममा अहिले पुराना स्याउका एउटा पनि बोट छैनन्  । स्याउ उत्पादनका लागि चिनिएको यो फार्ममा स्याउ नासिएपछि अहिले विभिन्न प्रजातिका फलफूलको खेती विस्तार गरिएको छ ।

सतबाँझ सुक्खा फलफूल केन्द्रको २९ हेक्टर क्षेत्रफलमा अहिले केही नयाँ जातका स्याउ र हिउँदको समयमा फल्ने सुक्खा फलफूल लगाइएको केन्द्रले जनाएको छ । अहिले यो फार्म सुक्खा फलफूलको बेर्ना उत्पादन, परीक्षण केन्द्रका रूपमा विकास भइरहेको खबर गोरखापत्र दैनिकमा छ ।

केन्द्रका अनुसार केही वर्ष अघिसम्म मङ्सिरदेखि फागुनसम्म हिउँले डम्म ढाकिने सतबाँझको यो डाँडाको फार्ममा छ हजारभन्दा बढी स्याउका बोटबाट वार्षिक ४० टन स्याउ उत्पादन हुने गर्थ्यो । स्याउ फल्न छोडेपछि फलफूल केन्द्रले पछिल्लो समय ओखर र नास्पातीका बोट लगाए पनि स्याउकै कारण प्रसिद्धि कमाएको सतबाँझको इतिहास लोप हुन थालेको छ ।

उजाड बन्न थालेको फलफूल केन्द्र जोगाउन अहिले ५५ हजार बोट ओखर, एक हजार जैतुन, कागजी बदाम लगाउन सुरु गरिएको छ । बागवानी विज्ञहरूका अनुसार स्याउ फल्न वर्षभरिमा एक हजार छ सय घण्टासम्म सात डिग्री सेल्सियसमुनि तापक्रम चाहिन्छ । अहिले यो ठाउँमा पाँच सय घण्टा पनि मुस्किलले सात डिग्री सेल्सियस तापक्रम पुग्छ । प्राविधिकहरूका अनुसार जलवायु परिवर्तनका कारण पुराना प्रजातिका स्याउका बोट हराएका हुन् ।

पुराना प्रजातिको स्याउ उत्पादन हुन छोडेपछि सतबाँझको इतिहास मेटिन नदिन अहिले फुजी, गाला र रेडग्रेड स्टिम प्रजातिका एक सय नयाँ स्याउका बोट रोपिएको फलफूल केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए ।

प्राविधिक खड्काका अनुसार अहिले रोपिएका स्याउका बिरुवा तीन वर्षमा फल्ने र एउटा बोटबाट १२ देखि १५ किलोसम्मका स्याउ उत्पादन हुनेछ । पहिलोपटक फर्ममा नास्पाती, ओखर, कागजी बदाम, खुर्पानीबाहेक किबीको पनि उत्पादन सुरु गरिएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आईतवार ०७:१९