१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

इरानकी उपराष्ट्रपतिलाई पनि कोरोनाभाइरसकाे संक्रमण

१६ फागुन, काठमाडौँ। इरानकी उपराष्ट्रपतिलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । उपराष्ट्रपति मासुमेह एब्टेकरमा गरिएको कोरोनाभाइरस संक्रमण परीक्षण पोजेटिभ देखिएको हो । यसअघि त्यहाँका उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई पनि कोरोना भाइरस संक्रमण देखिएको थियो।

क्याविनेट बैठक बसेको एक दिनपछि बिहीबार उपराष्ट्रपति एब्टेकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको न्युयोर्क टाइम्सले जनाएको छ। बैठकमा उपराष्ट्रपति एब्टेकर राष्ट्रपतिको छेउमै बसेकी थिइन्। उपराष्ट्रपति एब्टेकरलाई घरमै क्वारेन्टाइनमा राखिएको उनका सहयोगीले बताएका छन्। उनी इरानमा कोरोना संक्रमण हुने सातौँ उच्च अधिकारी हुन्। जसमा एक जनाको मृत्यु भइसकेको छ।

इरानमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु भइसकेको छ भने २४५ भन्दा बढी संक्रमित देखिएका छन्। तर, स्वास्थ्य विज्ञहरुले भने इरानमा तीव्र रुपमा कोरोनाको संक्रमण फैलिरहेको र संख्या एक हजारभन्दा माथि पुगेको बताएका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका ४७ देशमा पुगिसकेको छ।

प्रकाशित मिति : February 28, 2020 at 11:02 am