१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

४ सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायब‚ चालकको हातमा पुगेको आशंका

१३ फागुन, काठमाडौं । नेपाल आयल निगमको सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको छ । साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म भेटिएको छैन ।

हराएको ‘मास्टर की’ले भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोदेखि सिनामंगलस्थित निगमको हवाई इन्धन डिपोमा तेल ओसार्ने १८१ ट्यांकरको ताला खुल्छ । त्यस्तै, बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोका २०० ट्यांकरको लक पनि सोही साँचोले खोल्न मिल्छ । साझा साँचो हराएको संयोग ट्यांकर चालकको माग सम्बोधन भएको समयसँग मिलेको छ ।

तापक्रम नोक्सानीबापत तेलको जति परिमाण देखाए पनि निगमले छुट दिने लिखित सहमति १४ माघमा आयल निगम र ट्यांकर चालकबीच भएको थियो । सिनामंगल डिपोमै तेल ओसार्दै आएका ट्यांकर चालकले राखेको माग निगमले सम्बोधन गरेको थियो । त्यसको पाँच दिनपछि साँचो हराएको पत्ता लागेको समाचार नयाँ पत्रिका दैनिकमा छ । साँचो चालकको हातमा परेको भए आइओसीबाट तेल बोकेर आउनले ट्यांकर बाटैमा रोकेर केही परिमाण तेल चोर्न सहज भएको छ । चोरी गरेको तेल परिमाणलाई चालकले तापक्रम नोक्सानीमा देखाइदिन सक्छ । यसकारण साँचो चालककै हातमा पुगेको अनुमान छ ।

‘ट्यांकरको प्रत्येक चेम्बरमा केही परिमाण तेल झिक्यो भने अहिले कारबाही नहुने व्यवस्था छ । त्यसैले हराएको साँचो ट्यांकर चालकको हातमा पुगेको हुनुपर्छ,’ निगमको केन्द्रीय कार्यालयका एक कर्मचारीले भने । १ चैत ०७४ देखि तेल चोरी गर्न नमिल्ने लकिङ लगाउन थालेपछि चालकहरूले विरोध गरेका थिए । हवाई इन्धन डिपोमै इन्धन ओसार्ने चालक संगठनका अध्यक्ष पशुपति पाठकले त इन्धन चोरी गर्न पाउनुपर्ने भन्दै सार्वजनिक मञ्चबाटै उद्घोष गरेका थिए ।

तत्कालीन निमित्त प्रमुख सुशील भट्टराईले पनि लकिङलाई साथ दिन अनुरोध गर्दै चालकहरूलाई केही न केही सुविधा दिने आश्वासन दिएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार ०६:५८