२१ पुष २०८१, आईतवार | Mon Jan 6 2025

अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित

२८ वैशाख, पाँचथर । पाँचथरका अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् ।

अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाइएको अलैँचीमा प्राकृतिक रङ र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।

फालेलुङ गाउँपालिका–७ का जनकलाल राई आफूले जडान गरेको उन्नत भट्टी प्रभावकारी भएको भन्दै अन्य अलैँची कृषकलाई समेत त्यसको प्रयोग गर्न सुझाव दिएको बताउँछन् । आधुनिक भट्टीमा सुकाइएको अलैँचीको मूल्यसमेत बढी हुने उनको भनाइ छ ।

परम्परागत भट्टीमा सुकाइएको अलैँची कालो रङको हुने भएकाले व्यापारीले समेत प्राकृतिक रङ भएकै अलैँची खोज्ने गरेका छन् । कम समयमा सुक्ने भएकाले यसको तौल समेत बढ्छ । सिंहवाहिनी इन्जिनियरिङ बक्स एण्ड इनर्जी प्रालि सुनसरीको आयोजना तथा उन्नति कार्यक्रमको सहयोगमा उन्नत अलैँची भट्टी प्रवद्र्धन कार्यक्रम सञ्चालन भएपछि किसानले ड्रम भट्टीलाई त्याग्न थालेका हुन् ।

प्रालिले पूर्वका सात जिल्लामा उन्नत अलैँची भट्टी प्रवद्र्धन परियोजना सञ्चालन गरेको छ ।

अलैँची जोन पाँचथरका कृषि अधिकृत प्रकाश विश्वकर्माले जिल्लामा ५७ वटा आधुनिक अलैँची भट्टी सञ्चालनमा आएको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १५:४०