१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नयाँ पम्पलाई फागुनभित्रै स्वीकृति

११ फागुन, काठमाडौं । नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पुर्‍याएको छ । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

सांकेतिक तस्बिर ।

नयाँ पम्पका लागि एक हजार २५ व्यवसायीले आवेदन दिएका थिए । निगमले विशेषगरी काठमाडौँ उपत्यकाबाहिरका र ठूला तथा साना सहरोन्मुख क्षेत्रका लागि गत वैशाखमा आवेदन खुलाएका थियो । त्यसमा सबैभन्दा धेरै प्रदेश २ बाट ३४३ वटा आवेदन परेको खबर गोरखापत्र दैनिकमा छ । सबैभन्दा थोरै कर्णाली प्रदेशबाट २२ वटा मात्र छन् । त्यस्तै प्रदेश १ बाट १८९, बाग्मती प्रदेशबाट १३१, गण्डकीबाट २७, प्रदेश ५ बाट दुई सय र सुदूरपश्चिम प्रदेशबाट ५६ वटा आवेदन परेका छन् ।

निगमले चलिरहेका पम्पहरू केही सुधार गर्ने र दुई वर्षअघि आवेदन खुलाएको नमुना पेट्रोलपम्पको प्रावधान यथावत् राखी नयाँ पम्पका लागि नयाँ विनियमावली ल्याएर आवेदन खुलाएको हो । नेपालमा हाल एक हजार पाँच सय पम्प छन् । एक हजार २५ वटा नयाँ आवेदन परेका छन् । नयाँ सबैले इजाजत पाए भने पम्पको सङ्ख्या दुई हजार पाँच सय पुग्नेछ ।

तर पेट्रोलियम व्यवसायीले भने यति धेरै पम्प थप्न नपर्ने जनाएका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन राष्ट्रिय महासङ्घका अध्यक्ष लीलेन्द्र प्रधानले भइरहेका पम्पमध्ये ५६ प्रतिशतले पूरा कारोबार गर्न नपाएको बताउँदै अब हजार पम्प थपिँदा के हुन्छ ? भन्ने प्रश्न गरे । उनले बैङ्क र बीमा कम्पनी मर्जरमा गइरहेका बेला थप पम्पको औचित्य देखिएको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार ०६:२३