१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भैरहवा सेजमा विद्युत् समस्या : प्रसारण लाइन र सबस्टेसन बन्न ढिलाइ

११ फागुन, भैरहवा । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा मागअनुसार विद्युत् आपूर्ति नहुँदा उद्योगी समस्यामा छन् । दर्ता भएका उद्योगीले समेत विद्युत् अभावकै कारण उद्योग स्थापनामा चासो देखाएका छैनन् ।

विद्युत् प्रसारण लाइन नबन्दा मागअनुसारको बिजुली नपाएपछि उद्योगी समस्यामा परेका हुन् । सेजमा ११ केभीएको लाइनबाट पाँच मेगावट विद्युत् आपूर्ति भइरहेको छ । पर्याप्त विद्युत् पाउन नसक्दा उत्पादनमा समस्या भएको सेजमा उद्योग सञ्चालन गरेका पञ्चकन्या उद्योगका प्रतिनिधि खडानन्द चौधरीले बताए ।

सेजमा अहिले ३३ केभीएको विद्युत् प्रसारण लाइन आवश्यक पर्ने भएकाले हाल आपूर्ति भइरहेको विद्युत् पर्याप्त नभएको उनको भनाइ छ । भैरहवा सेजमा शक्ति मिनरल्स प्रालि, विस्तार ग्लोबल प्रालि, एलईडी लाइट उत्पादन उद्योग प्रालिले उत्पादन सुरु गरेका छन् । यस्तै जयबुद्व मेटल क्राफ्ट, पञ्चकन्या ग्रुप, यती प्लास्टिक प्रालि निर्माणाधीन छन् । सेजमा स्थापना भएका उद्योगले उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था रहेको खबर गोरखापत्र दैनिकमा छ ।

त्यसैअनुरूप भैरहवा सेजमा स्थापना भएका तीन उद्योगले डेढ करोड रुपैयाँभन्दा बढीको निर्यात गरेका छन् । तर विद्युत् अभावका कारण लक्ष्यअनुसार उत्पादन हुन नसकेको उद्योगीको भनाइ छ । उद्योगका लागि पूर्वाधार तयार गरे पनि विद्युत् पाएका छैनौँ, एस प्लास्टिक उद्योगका सञ्चालक सरोज कँडेलले भने ।

नेपाल विद्युत् प्राधिकरणका प्रदेश ५ कार्यालय प्रमुख नवराज सुवेदीले प्रसारण लाइन निर्माणका क्रममा वन र सडक विभागबाट समस्या हुँदा समयमा काम हुन नसकेको बताए ।

प्राधिकरणले योगीकुटी सबस्टेसनदेखि सेजसम्म छुट्टै ३३ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरिरहेको छ । भरौलिया–धकधई खण्डमा प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरेको र यो अवरोध हटेपछि निर्माणले गति लिने सुवेदीले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार ०६:१५