४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अष्ट्रेलियाको एडिलेडमा पनि मनाइयो महाशिवरात्री (फोटोफिचर)


१० फागुन, एडिलेड । नेपाली भजनकृतन समूह एडिलेडको आयोजनामा साउथ अष्ट्रेलियाको एडिलेडमा फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइयो । शिवरात्रीमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू स्नान गरी भगवान शिवको श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणमा उल्लेख छ । यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने र दुख कष्टबाट मुक्ति दिलाउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ ।

परदेशमा देशकै अनुभुति दिलाउने गरि शिवरात्री मनाइएको आयोजक संस्था नेपाली भजनकृतन समुहका अध्यक्ष गणेश पराजुलीले बताउनु भयो । कार्यक्रममा नेपालबाट आउनु भएका अभिभावकहरुको समेत बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा विशेष शिव पुजा आरती तथा भजन गरिएको थियो । भने कार्यक्रमको अन्त्यमा भजन कृतन गरिएको थियो । भजनकृतनमा नाच्न गान गर्दा नेपालकै अनुभुती भएको सहभागी अभिभावक देवकी पौडेलले बताउनु भयो ।

कार्यक्रममा सहयोगीहरुलाइ रामनामी ओढाएर सम्मान गरिएको थियो । समुहका सचिब आर के शर्माले कार्यक्रममा अष्ट्रेलियामा जन्मेका हुर्केका पुस्ताको पनि उल्लेखनीय सहभागीताले हिन्दू धर्म र नेपाली परम्परा बारेमा नयाँ पुस्तालाई परिचित गराउन समेत सफल भएको बताउनु भयो । कार्यक्रममा सहभागीहरुलाई प्रसाद समेत वितरण गरिएको थियो । समुहका अध्यक्ष पराजुलीले सहभागी, सहयोगी, स्वयंसेवक सबैमा समुहका धन्यवाद र आभार व्यक्त गर्दै कार्यक्रमको सफलताबाट समूह उत्साहित भएको र आगामी वर्षमा अझ भव्य कार्यक्रम गर्ने बताउनुभयो ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार १८:४९