१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

इम्बोस्ड नम्बर फागुन अन्तिमदेखि

१० फागुन, काठमाडौं । यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ । अन्तिम तयारी भएको र फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम सुरु गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

सवारीसाधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत हेर्न मिल्ने गरी दुई वर्षअघि इम्बोस्ड नम्बर प्लेटको वितरण गरिएको थियो । २०७४ भदौ ५ गतेबाट औपचारिक रूपमा इम्बोस्ड नम्बर प्लेट वितरण भएको थियो । तर सर्वोच्च अदालतले ०७४ फागुन १० गते सवारीसाधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको खबर गोरखापत्र दैनिकमा छ ।

इम्बोस्ड प्लेटको विरुद्धमा परेको रिट सर्वोच्चले गत मङ्सिर २७ गते खारेज गरेपछि विभागलाई बाटो खुलेको हो । विभागले २०७३ को जेठमा पाँच वर्षमा २५ लाख इम्बोस्ड नम्बर वितरण गर्ने गरी चार अर्ब ९५ करोड रुपैयाँको सम्झौता बंगलादेशको कम्पनी टाइगर डेकाटुरसँग गरेको थियो ।

सर्वोच्चको आदेशपछि सबै काम रोकिएको थियो । २०७४ भदौ ५ गतेसम्म पाँच हजार इम्बोस्ड नम्बर प्लेट छापिएको थियो । तीन हजार नम्बर प्लेट तयार भए पनि सवारीमा राखिएको छैन । महानिर्देशक हमालका अनुसार पहिला छाप्ने क्रममै रोकिएका बाँकी पाँच सय नम्बर प्लेटको काम सुरु गरिनेछ । राजस्व तिरिसकेकालाई नम्बर प्लेट लिन आउन सूचना जारी गरिने हमालको भनाइ छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार ०८:५८