६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक, वर्षको अन्त्यसम्म नयाँ दर


८ फागुन, काठमाडौं चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युत् नियमन आयोगले प्रक्रिया अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले पेस गरेको विद्युत् महसुल प्रस्तावमा सर्वसाधारणको प्रतिक्रिया लिन भन्दै आयोगले बुधबार प्रस्तावित दरहरू सार्वजनिक गरको छ ।

प्राधिकरणले पेस गरेको प्रस्ताव फागुन १ गते आयोगमा दर्ता भएको थियो । प्राधिकरणले यसअघि मङ्सिर ८ गते गरेको महसुल समायोजनको प्रस्तावमा महसुल वृद्धिमा अस्वाभाविक आधार पेस गरेको भन्दै दर्ता गरेको थिएन । गार्हस्थ मूल्यमा कुनै परिवर्तन नगरिएको भन्दै कारण खुलाउन आयोगले पत्राचार गरेको खबर गोरखापत्र दैनिकमा छ ।

त्यस्तै, पहिलो प्रस्तावमा महसुल समायोजनको आधारमा खर्च वृद्धि हुने प्रक्षेपण पेस गरेको थियो । पहिलो प्रस्तावमा गत आर्थिक वर्षमा ७७ प्रतिशत बढेको अन्य आय आगामी आवमा २८ प्रतिशत कम हुने, कालीगण्डकी ए, मध्य मर्स्याङ्‍दीजस्ता आयोजनामा गत वर्ष १० प्रतिशत खर्च घटेकामा आगामी आवमा ५४ प्रतिशत बढ्ने र ट्रान्समिसन तथा नेटवर्क खर्चमा एक प्रतिशत कमी आएकामा आगामी वर्ष ११ प्रतिशत बढ्नेलगायत दाबी प्राधिकरणले गरेको थियो । यसमा आयोगले १७ बुँदामा कारण खुलाउन माग गरेको थियो ।

प्राधिकरणले सो पत्रको जवाफसहित संशोधित प्रस्ताव पुनः आयोगमा पठाएपछि आयोगले दर्ता गरेको थियो । आयोगले विद्युत् महसुल प्रस्तावमा आफ्ना प्रतिक्रिया तथा धारणा पेस गर्न भन्दै सबै विवरण आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । आयोगले ३५ दिनसम्म प्रतिक्रिया लिने र त्यसको अध्ययन गर्नेछ । साथै, सरोकारवालाबीच बृहत् छलफल गराउने गरी प्रस्तावक प्राधिकरण र सरोकारवाला सम्मिलित सार्वजनिक सुनुवाइ गर्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार ०७:०२