७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

कोरोना भाइरसको प्रभाव : सुन हालसम्मकै महँगो

७ फागुन, काठमाडौं चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अन्य आर्थिक गतिविधिमा सुस्तता आएसँगै विश्वका लगानीकर्ता सुन बजारमा आकर्षित भएकाले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

प्रतिकात्मक तस्बिर ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस १५८७.७७ डलर कायम भएको छ । यो ५.१४ डलरले उकालो लागेको हो । केही दिनअघि पनि यो मूल्यले उछाल मारेर १६१० डलर पुगेको थियो तर यो निकै छोटो अवधि मात्र कायम रहेकाले त्यसको प्रभाव नेपाली बजारमा भने नपरेको सुनचाँदी व्यवसायी महासङ्‍घका अध्यक्ष तेजरत्न शाक्यले बताए ।

तर फेरि पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य छिटै नै एक हजार छ सय डलरभन्दा माथि पुग्ने अनुमान गर्न थालिएको खबर गोरखापत्र दैनिकमा छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाली बजारमा पनि सुनले नयाँ रेकर्ड बनाएको छ ।

मङ्‍गलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार सात सय रुपैयाँमा कारोबार भयो । यसअघि गत माघ १८ गते ७६ हजार पाँच सय रुपैयाँको रेकर्ड बनाएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार चार सय रुपैयाँमा किनबेच भएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी ८९० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । सुनको मूल्य बढेसँगै कारोबारमा कमी आएको व्यवसायीले बताएका छन् ।

लगातारको मूल्यवृद्धि र सरकारले लिएको नीतिका कारण पछिल्लो ६ महिनामा सुन आयात गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतभन्दा बढी घटेको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो ६ महिनामा आठ अर्ब ६० लाख रुपैयाँको सुन आयात भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार ०६:५६