३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

ऊर्जा खपतको विस्तार सुस्त

२ फागुन, काठमाडौं चालू आव ०७६/७७ भित्र प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १८१ किलोवाट प्रतिघण्टा (युनिट) बढाउने लक्ष्य लिएकोमा पहिलो ६ महिनामा २२ युनिट बढेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आवको बजेटको अर्धवार्षिक समीक्षा अहिले प्रतिव्यक्ति ऊर्जा खपत २६७ युनिट पुगेको छ ।

गत असार मसान्तसम्म यस्तो आँकडा २४५ युनिट थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वार्षिक कार्ययोजनाअनुसार पहिलो चौमासिकमा २५ युनिट र दोस्रो चौमासिकमा १८ युनिट थप गर्ने लक्ष्य रहेको खबर गोरखापत्र दैनिकमा छ । यस आधारमा लक्ष्यअनुसार छ महिनामा करिब ३४ युनिट बढ्नुपर्ने थियो ।

कार्ययोजनामा अन्तिम चौमासमा एकैपटक १३८ युटिन विस्तार गर्ने लक्ष्य राखिएको छ । अबको साढे चार वर्षभित्र प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत सात सय युनिट पुर्‍याउने योजना सरकारको छ ।

विद्युत् उत्पादन बढ्दै जाँदा विद्युत् खपत विस्तार पनि तीव्र पार्दै जाने नीति रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणले विद्युत् खपत बढाउन घरघरमा विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टेसन खोल्ने कार्यक्रम अगाडि बढाएको जनाएको छ ।

उपभोक्ताले धेरै विद्युत् खपत गर्न लाग्दा वितरण प्रणाली अवरुद्ध हुनुले खपत विस्तारमा केही चुनौती थपिएको छ । पछिल्ला केही महिना विद्युत्को उच्च माग हुँदा स्थानीय स्तरका वितरण प्रणालीले लोड नथेग्ने र विद्युत् आपूर्ति अनियमित हुने समस्या आएको थियो ।

प्राधिकरणले यसका लागि संरचनाको सुदृढीकरण, स्तरोन्नति र विस्तार गरिरहेको जनाएको छ । यद्यपि जाडो उच्च हुँदा लोड सेन्टर काठमाडौँलगायत देशभर विद्युत्को माग उच्च रहेका बखत वितरण प्रणालीको समस्या पनि चर्किएको थियो ।

दुई वर्षभित्र मुलुकभरका ७५३ स्थानीय तहमध्ये २२२ मा ९० प्रतिशभन्दा बढी विद्युत् पुगेको छ । प्राधिकरणले गत भदौमा मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरूको वडासम्मको विस्तृत अध्ययन गरी सार्वजनिक गरेको विद्युतीकरण तथ्याङकअनुसार ११७ स्थानीय तहमा विद्युतीकरण पाँच प्रतिशतभन्दा कम छ । केही स्थानीय तहमा विद्युत् पुगेकै छैन ।

५५ स्थानीय तहमा पाँचदेखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । १०६ स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत र २५३ मा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार ०६:५६