१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गोरखपुर–रुपन्देही ग्यास पाइपलाइनको गृहकार्य

१ फागुन, काठमाडौं भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म ग्यास पाइपलाइनको गृहकार्य अगाडि बढेको छ । रासायनिक मल उत्पादन तथा घरायसी काममा समेत प्रयोग गर्ने उद्देश्यले ग्यास ल्याउने पाइपलाइनको गृहकार्य अगाडि बढेको हो । ल्याइने ग्यास प्राकृतिक अर्थात् लिक्युफाइड नेचुरल ग्यास हुनेछ ।

भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्य समूहको बैठकमा गोरखपुरदेखि रुपन्देहीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउनेबारे दुई मुलुकबीच छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको भन्दै गोरखापत्र दैनिकमा खबर छ ।

पुस २७ र २८ गते भारतको नयाँदिल्लीमा नेपाल–भारत पेट्रोलियम तथा ग्यासका लागि दुईदेशीय कार्यदलको पहिलो बैठक बसेको थियो । बैठकमा नेपालले गोरखपुरदेखि रुपन्देहीसम्म प्राकृतिक ग्यासको पाइपलाइन बिच्छयाइदिन भारतसमक्ष प्रस्ताव गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा सो दुईदेशीय बैठकमा नेपाल पक्षको नेतृत्व गरेका ध्रुव घिमिरेले सो कार्यलाई अगाडि बढाउन भारतले नेपालसँग ‘माग प्रक्षेपण’ गरेको र त्यसको तयारी अहिले मन्त्रालयले गरिरहेको जानकारी दिए । ‘माग प्रक्षेपण’का साथै नेपालमा प्राकृतिक ग्यास बजारको सम्भावित अवस्था र भविष्यबारे समेत भारत नेपालसँग स्पष्ट हुन खोजेको सहसचिव घिमिरेले बताए ।

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले यस विषयमा दुई मुलुकबीच गृहकार्य अगाडि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार ०६:२१