१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दैलेखमा पेट्रोलियम पदार्थ रहेको सुनिश्चित

२९ माघ, काठमाडौं दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ ।

परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन परियोजनाले पछिल्लो समय गरेका भौगर्भिक तथा अन्वेषणको परिणामले यस क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सुनिश्चित भएको जानकारी दिए । उनले भने, “दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सम्भावना यसअघि नै प्रबल थियो तर अहिले भइरहेको अध्ययन र अन्वेषणले सो सम्भावनालाई सुनिश्चितता प्रदान गरेको छ ।”

अहिलेको अध्ययनका क्रममा सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको केही वैज्ञानिक प्रमाण (इभिडेन्सेज) र आधारहरू फेला परे पनि राष्ट्रिय हित र गोपनीयताका कारण त्यसलाई सार्वजनिक गर्न नमिल्ने उनले स्पष्ट पारे । पेट्रोलियम पदार्थको क्षेत्र र परिमाणबारे थाहा पाउन ‘ड्रिलिङ’ गर्ने उपयुक्त ठाउँको खोजीका लागि अहिले ‘साइस्मिक सर्वे’ र ‘म्याग्नेटु टेल्रिक सर्वे’ भइरहेको बताउँदै उनले अहिलेसम्म ‘साइस्मिक सर्वे’को काम ७० प्रतिशत र ‘म्याग्नेटु ट्रेलिक सर्वे’को काम शतप्रतिशत सम्पन्न भइसकेको जानकारी दिए ।

अबको तीन सातामा ‘साइस्मिक सर्वे’को काम पनि सम्पन्न हुने उनले बताए । खानी तथा भूगर्भ विभागका अनुसार दैलेखको सो क्षेत्रको करिब १४ किमि दूरीमा ४५ ग्यास चुहावट देखिएको खबर गोरखापत्र दैनिकमा छ ।

सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भएको थियो भने सोही सम्झौताअनुसार चिनियाँ प्राविधिक टोली सन् २०१६ को मेमा नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराह क्षेत्र र मोरङको भाउन्नेमा प्रारम्भिक अध्ययन गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार ०६:४१