८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

बोनस पाउने गरी मेलम्चीको काम तीव्र, असारसम्म पानी आउँछ कि !

२८ माघ, काठमाडौं मेलम्चीको पानी असारसम्म काठमाडौँ ल्याउने तयारी भएको छ । सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

हेडवर्क्स निर्माणको सम्झौता अवधि १५ महिनाको भएकाले हाललाई अस्थायी डाइभर्सन गरी असारमा ल्याउन लागिएको खबर गोरखापत्र दैनिकमा छ । मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सिनो हाइड्रोले कामलाई तीव्र बनाएको मेलम्ची खानेपानी विकास समिति प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । कम्पनीले तोकिएको समयभन्दा अगावै सम्पन्न गरी बोनस पाउनेगरी काम गरिरहेको उनको भनाइ छ ।

प्रवक्ता पन्तले भने, ‘काम द्रुतगतिमा भएको छ, कामको प्रगति राम्रो छ, बोनस खानेगरी कम्पनीले कम गरेको छ, अहिलेसम्म हेर्दा बोनस खाने सङ्केत देखिएको छ, यसको मतलब तोकिएको समय अगावै काम सकिन्छ ।’

सम्झौता अनुसार ६६ दिनअघि काम सम्पन्न गरे कुल सम्झौताको १० प्रतिशत बोनसको व्यवस्था छ । दैनिक ०.०१५ प्रतिशत हुन आउँछ । समय अगावै काम सके दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता छ । कम्पनीले छिटो काम सके दैनिक १२ लाख ७५ हजार रुपियाँ प्रोत्साहन भत्ता पाउने छ । काममा ढिलाइ भए कम्पनीले दैनिक १२ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्नेछ ।

गत असोज २४ गते हेडवर्क्स निर्माणका लागि समितिले हाइड्रोसँग सम्झौता गरेको थियो । हेडवर्क्स निर्माण गर्न एक अर्ब दुई करोड रुपैयाँको सम्झौता भएको हो । काम सुरु भएको एक वर्षमा निर्माण सक्नुपर्ने सम्झौता छ । सुरुङ फिनिसिङको काम पनि हाइड्रोले गर्नेछ । काम सुरु भएको एक वर्षमा सम्पन्न गर्ने गरी ८५ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार ०६:३६