३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

प्रमुख अतिथि देउवा कि पाैडेल भन्ने विवादले नेविसंघ प्रशिक्षण अनिश्चितकालका लागि स्थगित

२७ वैशाख, काठमाडाैँ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बिहान आठ बजेका लागि बोलाइएको प्रशिक्षण कार्यक्रमको उद्घाटन विवादका कारण नौ घण्टासम्म शुरु हुन नसकेपछि अनिश्चितकालका लागि स्थगित भएको छ ।

नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई १० वर्षसम्म बन्दी बनाइएको सुन्दरीजलस्थित संग्रहालयमा संघका दुई पक्षले अलगअलग मञ्च निर्माण गरेपछि कार्यक्रम शुरु हुन सकेको थिएन । संघका अध्यक्ष नैनसिंह महर पक्षले पञ्चायतकालमा काँग्रेसले अपहरण गरेको हवाइजहाज राख्न बनाइएको जस्ताको टहरामा मञ्च बनाएको थियो ।

संघको असन्तुष्ट पक्षले भने खुला चौरमा मञ्च तयार पारेको थियो । पछिल्लो समय अध्यक्ष महरले विवादित जिल्लामा अधिवेशन नगराई टिके अध्यक्ष तोकेको, केन्द्रीय पदाधिकारी एवं सदस्य मनोनयन गर्दा सल्लाह नगरेको र विधान विपरीत आमन्त्रित सदस्य मनोनयन गरेको असन्तुष्ट पक्षको आरोप छ ।

अध्यक्ष महर पक्षले काँग्रेस सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरेको जनाएका छन् ।

असन्तुष्ट पक्षका केन्द्रीय सदस्य तेजबहादुर बानियाँ अध्यक्ष महरले दुईवर्षे कार्यकालमा विवाद भएका ११ जिल्ला र ४४ क्याम्पसमा अधिवेशन गराउन नसकेको बताउनुहुन्छ । सोलुखुम्बु, कास्की, सुर्खेत, सिरहा, रौतहट, कञ्चनपुर, भक्तपुर, पर्सा, धनुषा, रुपन्देही र मुस्ताङमा विधिसम्मत अधिवेशन हुन नसकेको उहाँले बताउनुभयो ।

संघको १२९ सदस्यीय कार्यसमितिमा १९ पदाधिकारीसहित ८४ सदस्य अध्यक्ष महरसँग असन्तुष्टि राख्दै एक हप्ता अघि फरक बैठक गरेका थिए । बैठकले अध्यक्ष महरले विधि विधान अनुरुप संघ सञ्चालन गर्न नसकेको भन्दै विरोध जनाएको थियो ।

संघका अध्यक्ष महर भने आफूले विधानले दिएको अधिकार प्रयोग गरी काम गरेको बताउनुहुन्छ । “विशेष कारणले आजको प्रशिक्षण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ, अर्को कार्यक्रम जिल्ला अध्यक्षलाई समेत सहभागी गराएर गरिनेछ”–रासससँग कुरा गर्दै उहाँले भन्नुभयो ।

संघले यसअघि आजका लागि संघका तर्फबाट निर्वाचित स्ववियू सभापति, पदाधिकारी र सदस्यका लागि भन्दै प्रशिक्षण कार्यक्रम राखेको थियो ।

संघका काठमाडौँ अध्यक्ष मनोज वैद्य अध्यक्ष महरले टिकेशैलीमा गर्नुभएको जिल्ला, क्याम्पस एकाई अध्यक्ष एवं केन्द्रीय पदाधिकारी, सदस्य र आमन्त्रित सदस्य फिर्ता नलिए समानान्तर कार्यक्रम गरिने बताउनुहुन्छ । विवाद समाधान गर्न बिहान काँग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा दुवै पक्षका नेतासँग छलफल गर्नुभएको थियो ।

सुन्दरीजलका स्थानीय काँग्रेस नेता कार्यकर्ताले भने विवाद समाधान गरेर एउटै कार्यक्रम गरेमात्र गर्न दिने अडान लिएका थिए । दुई वटा कार्यक्रम गर्न नदिने भन्दै काँग्रेस कार्यकर्ताले संग्रहालयको विद्युत् आपूर्तिसमेत बन्द गरिदिए । संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल पनि मिलेर एउटै कार्यक्रम गरेमात्र गर्न दिने अडान दुवै पक्षका नेतालाई जानकारी गराएको बताउनुहुन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार ०५:३०