१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कोरोना भाइरस नियन्त्रणका लागि युद्धस्तरमा खटिँदै चीन

२७ माघ, काठमाडौं नोबल कोरोना भाइरसलाई पराजित गर्न चीन युद्धस्तरमा लागेको छ । कोरोनाको उद्गमस्थल मानिने वुहान सहर सबैभन्दा बढी प्रभावित छ ।

तीन हजार वर्षभन्दा लामो इतिहास बोकेको यो ठाउँ चीनको मध्य भागमा रहेको हुपै प्रान्तमा पर्छ । हानच्याङ र छाङच्याङ नदीको बीचमा रहेको च्याङहान क्षेत्रको उर्वर भूमि वुहान मध्य चीनको व्यापार र पारवहन ‘हब’ हो । वुहानलाई नौ प्रान्त र सहरको ‘गेटवे’ नै मानिन्छ ।

दोक्लम काण्डमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सन् २०१८ मा वुहानमै अनौपचारिक वार्ता भएको थियो । त्यसलाई ‘वुहान भावना’ भनेर व्याख्या गरिएको थियो । यसकै दोस्रो संस्करणस्वरूप २०१९ अक्टोबरमा भारतको ममल्लापुरम (महाबलिपुरम) मा वार्ता भएको थियो ।

वुहानमा गत डिसेम्बरमा पहिलो पल्ट कोरोना संक्रमित व्यक्ति भेटिएको थियो । यहाँ संक्रमितको संख्या हजारौं पुगेको खबर अन्नपूर्ण पोस्टमा छ ।

एक करोड १० लाख जनसंख्या भएको वुहानसँगै आसपासका जोखिमपूर्ण सहरबाट अरू क्षेत्रमा भाइरस फैलिन नदिन जनवरी २३ देखि आवतजावत ठप्प छ । यति ठूलो प्रान्तको सदरमुकामबाट बहिर्गमन तथा आगमनमा रोक सन् १९४९ पछि यो पहिलो हो । अरू दर्जनौं चिनियाँ सहर पनि ठप्प छन् ।

जसबाट अरू सहर, प्रान्त र क्षेत्र भाइरसबाट संक्रमण हुने अवस्थाबाट धेरै हदसम्म सुरक्षित छन् । आउजाउ तथा सार्वजनिक स्थानमा जमघट कम हुँदा संक्रमणको प्रसार रोकिन्छ ।

चिनियाँहरू आफ्नो नयाँ वर्ष मनाउने तयारीमा रहेका बेला भाइरस देखापरेको थियो । चिनियाँ पात्रोअनुसार जनवरी २४ नयाँ ‘मुसा’ वर्षको पूर्वसन्ध्या थियो । योसँगै उनीहरू वसन्त चाड मनाउँछन् ।

पुनर्मिलनका लागि सबै जना घर फर्किने अवधिमा हुने करौडौं चिनियाँको आवतजावतलाई विश्वमै ठूलो परिमाणमा आवतजावत हुने अवधि मानिन्छ ।

कोरोनाले उनीहरूको योजना प्रभावित बन्यो । चीन र अरू देशमा पहिलो पटक भेटाइएका संक्रमित प्राय: वुहानवासी देखिएका छन् ।

भाइरसबाट जोगिन र रोकथामका लागि आमचिनियाँले घर फर्किने र मुलुकभित्र घुम्ने योजना पनि रद्द गरे । उनीहरूले भाइरस र रोगको प्रतिरोध गर्न निर्धारित यात्रा मात्रै रद्द गरेनन्, भाइरसको फैलावट हुन नदिन सरकारलाई सहयोग गर्दै घरभित्रै बसे ।

चीनले वसन्त चाडको बिदा सात दिनबाट लम्ब्याएको थियो । विश्वविद्यालय, विद्यालयको नयाँ सत्रलाई पछि धकेलिएको छ । वुहानसहित आसपासका सहर मात्रै होइन, राजधानी बेइजिङसहित धेरै सहर र प्रान्तले महामारीविरुद्ध लड्न पहिलो स्तरको स्वास्थ्य संकटकाल घोषणा गरे ।

कार्यालय र बस-रेल-सबवेमा भीड नियन्त्रण गर्न घरबाटै काम गर्ने ‘रिमोट वर्क’को प्रणाली लागू भएको छ । छिट्टै सर्ने यो भाइरस वुहानको सम्पर्कमै नभएकामा पनि फैलिएको पाइएको छ । यो भाइरस संक्रमित कतिपय व्यक्तिमा लक्षण नदेखिने तर अरूमा सर्ने गरेको पाइएको विज्ञ बताउँछन् ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार ०६:५७